विवाहपञ्चमी महोत्सव : रामजानकी विवाहका लागि जनकपुरधाममा दर्शनार्थीहरुको घुइँचो (तस्बिर सहित)
मिति: २०२३-१२-१७ , समय : १५:१२:३८ , शुभ नारायण यादब
मिति: २०२३-१२-१७ , समय : १५:१२:३८ , शुभ नारायण यादब
शुभ नारायण यादब
जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज रामजानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ ।
यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ । विवाहपूर्व आज जानकी मन्दिरबाट निस्कने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ ।
रङ्गभूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौँको सङ्ख्यामा उपस्थित तीर्थालुहरुबीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । त्यस स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तीर्थालुहरुको उल्लेख्य सङ्ख्यामा उपस्थिति हुने गर्दछ ।
स्वयम्वर कार्यक्रमको समापन पश्चात रङ्गभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ । जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ ।
मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौँको सङ्ख्यामा तीर्थालुहरुको उपस्थिति रहने गर्दछ । पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
प्रकाशित मिति: २०२३-१२-१७ , समय : १५:१२:३८ , १ वर्ष अगाडि