रामजानकी विवाह पञ्चमी महोत्सव : महोत्तरीबाट जन्ती जनकपुर प्रस्थान

मिति: २०२३-१२-१७ , समय : ०९:२३:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

शनिवार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भइ साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरीले बताउनुभयो ।

केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र श्रद्धालु आउने गरेका छन्। कतिपय भारतीय साधुसन्त त आज नै भिठ्ठामोर सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्ने जनाइएको छ ।

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो ।

प्रकाशित मिति: २०२३-१२-१७ , समय : ०९:२३:३४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्