मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने र लड्डु चढाउने भक्तजनको भीड
मिति: २०२३-१०-२३ , समय : ०८:४९:३७ , गामघर डेस्क
मिति: २०२३-१०-२३ , समय : ०८:४९:३७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । मधेस प्रदेशको जनकपुरधामसहित मिथिलाञ्चलका शक्तिपीठमा खोइँछा भर्ने र लड्डु चढाउने भक्तजनको भीड लागेको छ । दशैँकाे आठौँ दिन महाअष्टमीको अवसरमा विभिन्न शक्तिपीठमा शनिवार मध्यरातिदेखि नै खोइँछा भर्ने र लड्डु चढाउने कार्यक्रम चलिरहेको छ ।
राजा जनकको कुलदेवीका रूपमा चिनिने जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिर, धनुषा रमदैयाकाे राजदेवी मन्दिर, महेन्द्रनगरको दुर्गा मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर र कङ्कालिनी मन्दिरलगायत शक्तिपीठमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको हो ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख, शान्ति तथा समृद्धिको कामना गर्दै मिथालानी भर्ने गर्दछन् । मिथिलामा माता दुर्गाको खोइँछा भर्ने विधि निकै पौराणिक हो । सप्तमीको साँझदेखि नै मिथिलानीले खोइँछा भर्ने गर्दछन् ।
पण्डित लालबाबु झाका अनुसार मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई खोइँछा दिने गरिन्छ । खोइँछामा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दूर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ । झाले भन्नुभयो, ‘खोइँछा भर्दा धनधान्यको प्राप्ति हुने र घरपरिवारमा सुखशान्ति हुने जनविश्वास रहेअनुसार मिथिलानी दुर्गामाताको खोइँछा भर्ने गर्दछन् ।’
खोइँछा भर्नका लागि हजारौँको सङ्ख्यामा महिला राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोकलगायतका स्थानमा जम्मा भएका छन् । प्रसाद चढाउनका लागि गए राति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोइँछा भर्न महिलाको भीड लाग्छ । जनकपुरमा आज रातिदेखि बलि दिइनेछ । त्यसका लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजन बोका बलिका लागि जनकपुरधाम पुग्ने क्रम जारी रहेको छ । प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको सङ्ख्यामा बलि प्रदान हुने गरेको छ । रासस
प्रकाशित मिति: २०२३-१०-२३ , समय : ०८:४९:३७ , १ वर्ष अगाडि