आठ महिनामा कुवेतले गर्यो २५ हजारभन्दा धेरै विदेशी नागरिकलाई ‘डिपोर्ट’
मिति: २०२३-०८-३० , समय : ०६:३६:१७ , गामघर डेस्क
मिति: २०२३-०८-३० , समय : ०६:३६:१७ , गामघर डेस्क
गामघर डेस्क
कुवेत । गएको ८ महिनामा कुवेतले २५ हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई देश निकाला ‘डिपोर्ट’ गरेको छ ।
जनवरी २०२३ देखि अगष्ट १९ सम्ममा आठ महिनाको अवधिमा कुवेत बसोबासको नियम उल्लङ्घन गर्ने २५ हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई देश निकाला गरिएको गल्फ न्युजले समाचार लेखेको छ । जसमध्येमा १० हजार जना महिला रहेका छन् ।
दैनिक जसो एक सयभन्दा धेरैको सङ्ख्यामा विदेशी नागरिकहरूलाई कुवेतले डिपोर्ट गरिरहेको छ ।
डिपोर्ट गरिएकाहरूले बसोबासको नियमसँगै लागू औषधको दुर्व्यसनी र वितरण गर्ने, माग्नेहरू र राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका विभिन्न कानुनको उल्लङ्घन गरेको कुवेतले जनाएको छ ।
पछिल्लो समय कुवेतका प्रथम उपप्रधान तथा इन्टेरियर मन्त्री शेख तलाल अल खालिदले देशलाई कानुन उल्लङ्घन गर्नेहरूबाट सुरक्षित राख्ने नीति ल्याउनु भएको छ । यो नीतिसँगै कुवेतले कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकहरूलाई देश निकाला गरेर स्वदेश फर्काई दिइरहेको छ ।
यसका साथै कुवेतले आफ्नो देशको जनसङ्ख्या र विदेशी नागरिकहरुबीच सन्तुलन कायम गर्न खोजिरहेको छ भने देशमा हुने अनियमित रोजगारीको अन्त्य गर्ने कुवेतको नीति रहेको छ ।
कुवेतमा कुवेती नागरिकभन्दा धेरै विदेशी नागरिकहरुको सङ्ख्या रहेको छ । जम्मा जनसङ्ख्याको ६० प्रतिशत विदेशी नागरिक छन् भने ३८ देखि ४२ प्रतिशत मात्रै कुवेती नागरिकको बसोबास रहेको छ ।
विदेशी नागरिकहरुमा सबैभन्दा धेरै एसियन देशका नागरिकहरू रहेका छन् । एजेन्सी
प्रकाशित मिति: २०२३-०८-३० , समय : ०६:३६:१७ , १ वर्ष अगाडि