२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ६९ जना सांसद पनि उपस्थित भएनन्, बैठक स्थगित….

मिति: २०२३-०८-२९ , समय : १८:२९:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । गणपूरक सङ्ख्या नपुगेपछि आज मङ्गलवारका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सकिएको छ ।

आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस’ भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले याे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्नुभएपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल बैरागी र ठाकुर गैरेले नियमापत्ति जनाउनुभएको थियो ।

सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या यकिन गर्न निर्देशन दिनुभएको थियो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधिसभामा कायम रहेका दुई सय ७५ सदस्यको एक चौथाइ (६९) हुनुपर्नेमा ५९ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते सोमवार दिउँसाे १ बजे बस्नेगरी स्थगित भएको हो ।

विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गएकाे वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको भन्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसदमा दर्ता गराउनुभएको थियो । उज्यालो

प्रकाशित मिति: २०२३-०८-२९ , समय : १८:२९:३८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित