सामाजिक सञ्जालले बिथोलेको धरान…….?
मिति: २०२३-०८-२६ , समय : २२:२८:२८ , गामघर डेस्क
मिति: २०२३-०८-२६ , समय : २२:२८:२८ , गामघर डेस्क
गामघर डेस्क
धरान । सामाजिक सञ्जालको गलत पोस्ट र स्ट्याटसको प्रभावले सुनसरीको धरान धार्मिक द्वन्द्वको केन्द्र बनाउने प्रयास भयो । तर, स्थानीय प्रशासन, स्थानीय जनता र नागरिक समाजको सचेत पहलले शनिबारको सम्भावित दुर्घटना टरेको छ ।
धरान पूर्वको ऐतिहासिक सहर हो । २०१६ साल अगाडि नै विकसित सहरको रूप धारण गरेको धरानमा हिन्दुहरूको आस्थाका मन्दिरहरू पिण्डेश्वरी, दन्तकाली, बुढासुब्बा चर्चित छन् । त्यहाँ धार्मिक पर्यटनको पर्याप्त सम्भावना छ । त्यति मात्रै होइन धरान धेरै जातजाति, भाषा, भाषी र दर्जनौँ संस्कृतिको केन्द्र पनि हो ।
त्यही धरानलाई जातीय र धार्मिक द्वन्द्वको केन्द्र बनाउने प्रयास भयो । तर, यो अभियानमा धरानका स्थानीय थिएनन् । धरान बाहिरका अतिवादीहरू थिए । धरानमै बसोबास गरेका औँलामा गन्न सकिने २÷४ जना व्यक्तिहरूले गरेको उग्रअतिवादलाई बाहिरका धेरै अतिवादीले उचाल्ने कोसिस गरेका थिए । उक्त प्रयास प्रशासनको सचेततापूर्ण पहलले अन्त्य गरिदिएको धरानकै अगुवाहरू बताउँछन् ।
धरानस्थित दन्तकाली मन्दिरका पुजारी हुन् कमल भट्टराई । उनको नजरमा धरानमा त्यस्तो जातीय र धार्मिक द्वन्द्वको अवस्था छैन । ‘सामाजिक सञ्जालमा विभिन्न तरिकाले फेक आईडीबाट नानाथरी लेख्ने काम भइरहेको छ । तर, कसले कहाँबाट के गरेको हो भन्ने बुझिएको छैन,’ उनले भने, ‘यहाँ त्यस किसिमको द्वन्द्व र सामाजिक सद्भाव बिथोलिने अवस्था छैन ।’
धरान भनेको पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली रहेको धार्मिक क्षेत्र हो । यद्यपि त्यहाँ अन्य जातजातिको पनि बसोबास छ । गोरु काट्ने र मासु खाने चलन यसअघि पनि थियो नै । ‘यहाँभन्दा अगाडि हामीले थाहा पाउँदा पनि धरानमा गोरु नखाएका होइनन् । गोरु खान्थे गुपचुपमा खान्थे । उनीहरू कसैले केही बिगारेका थिएनन् । दुई ठाउँमा काट्थे । मानिसहरूले थाहा पाएका पनि थिए । तर, म खाएँ भनेर भन्दैन थिए । खाने मन भएकाले खाने, मन नभएकाले खाँदैन थिए । त्यसबेला सामाजिक सद्भाव कायमै थियो,’ भट्टराई भन्छन्, ‘सामाजिक सञ्जालमा गोरु खाँदैछौँ, गाई खाँदैछौँ भनेर हल्ला गरेर हालेपछि समस्या सिर्जना भएको हो । यद्यपि यही घटनाको कारण धरानको आन्तरिक समाज भड्किने वा द्वन्द्वमा जाँदैन ।’
केही दिन अगाडि धरानमा चर्चको विवाद भयो । त्यहाँ चर्चको विवाद लिएर नगरप्रमुख हर्क साम्पाङसँग डेलिगेसन जाँदा उनले ‘अदालत जानु’ भन्दै मिलाउने प्रयास गरेनन् । गोरु काट्नेहरूले पनि पाउनु पर्छ भनेर ज्ञापनपत्र लिएर उपमहानगरपालिका गए । त्यसलाई नगर प्रमुख साम्पाङले सहज ढङ्गले लिए । त्यसैले समस्या निम्त्याएको उनी बताउँछन् । ‘धरानका धार्मिक संघसंस्थाहरुले पनि नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् र उनीहरूको माग भनेको सबै धर्म जात र समुदाय मिलेरै बस्नुपर्छ भन्ने खालको रहेको छ,’ भट्टराईले भने ।
पूर्वमेयर तथा महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक कुमार कार्की पनि धरानमा बाहिरबाट आक्रमण भएको बताउँछन् । ‘धरानको सद्भावलाई कायम गराउन नगरपालिका कमजोर रह्यो । त्यही कारण हामीले पूर्वमेयर, नागरिक अगुवाहरूले सद्भाव र्याली निकालेका हौँ । हामीले दुवै पक्षसँग गएर छलफल गर्यौं । धेरैले बाहिरबाटै खेलिरहेका छन् । हामीले दुवै पक्षलाई भनेका छौँ, कानुनको परिधिभित्र रहेर आफ्नो कुराहरू राख्नुहोस् । समुदायगत र धार्मिक हिसाबले जुधेर होइन । आ–आफ्ना नमिलेका कुराहरू छलफल गरेर मिलाउन भनेका छौँ,’ उनले भने, ‘धरान विचलित हुनुहुँदैन । धरानमा आगो सल्काएर कसैलाई पनि फाइदा हुँदैन । सामाजिक सञ्जाल अराजक बनेपछि धरानमा समस्या सिर्जना हुने हो कि जस्तो देखिएको हो । अहिले त्यो समस्या टरेको छ ।’
कार्कीले धरानको ऐतिहासिकताबारे थप प्रस्ट्याउँदै भने, ‘धरान नै यस्तो ठाउँ हो त्यहाँ पहाड, हिमाल, मधेसका सबै जातजाति, जनजाति र संस्कृतिले विविधतायुक्त भएको सहर हो । सांस्कृतिक पक्षधरहरूले बाहिरबाट मान्छे बोलाउने काम खराब हो । पूर्वसचिव जस्तो मान्छेले राँगाको खुट्टा खाएको टिकटकमा हालेको कुरालाई गोरुको खुट्टा भनेर भाइरल गरेपछि पनि समस्या आएको हो ।’
उनले धरानमा खुलेआम गोरु खाएको भनेर भन्दा पनि प्रशासन बेलैमा सतर्क नभएको बताए । ‘खाए कि खाएनन् । तर, सामाजिक सञ्जालले धेरै कुरा बिथोलेको हो । सामाजिक सद्भाव खलबल्याउन कसैले पनि दुष्प्रयास गर्नुभएन । जहाँनेर गल्ती भएको छ । त्यहीँबाट सच्याउनु पर्छ,’ उनी भन्छन् ।
नगरपालिकाले पनि विधिवत् ढङ्गले सबै पक्षलाई बोलाएर पहल गरेको भए बेलैमा समस्या समाधान हुने आफूले पाएको उनी बताउँछन् । ‘सामाजिक सञ्जालमा अनेक कुरा आउँदा प्रशासन पनि किन चुप लाग्यो ? जे भए पनि धरानमा सामाजिक सद्भाव बिथोलिन हुँदैन । बिथोलिने प्रयास गरे पनि सरकार सतर्क हुनुपर्यो,’ उनले भने ।
धरानका बौद्धिक व्यक्तित्व तथा सामाजिक अगुवा प्रा.डा. टङ्क न्यौपानेले पनि धरानमा अतिवादीहरू देखिएको बताए । त्यसलाई बाहिरका अतिवादीले झनै आगोमा घ्यू थप्ने कोसिस गरेको उनको भनाइ छ । ‘धरानमा दुवैतिर केही अतिवादीहरू छन् । तिनीहरूले जानीजानी द्वन्द्व निम्त्याउन खोजेको देखियो । एकथरी साथीहरूले लु हामीले गोरुको मासु खायौँ भनेर फेसबुकमा फोटो हाले । त्यो आवश्यक नै थिएन । खाएर चुपचाप बसेको भए भइजान्थ्यो । त्यो अतिवाद हो । त्यसो उनीहरूले गरे भनेर अर्को थरीले प्रतिकार गर्ने कुरा पनि अतिवाद हो,’ न्यौपानेले भने, ‘धरानमा क्षेत्री बाहुनको चाडबाडमा राई, लिम्बू जाने, राई लिम्बूको चाडबाडमा क्षेत्री बाहुन पनि जाने गर्छन् । धरान सद्भाव कायम रहेको सहर हो । हाम्रो नेपाली समाज भनेको युगौँदेखि सद्भाव कायम राखेर बाँचेको समाज हो । अनलाइनबाट
प्रकाशित मिति: २०२३-०८-२६ , समय : २२:२८:२८ , १ वर्ष अगाडि