जनमतको ‘एप्रुभल रेटिङ’मा महासचिवसहित चार सांसद फेल….

अनुशासन कमिटीले छानबिन गरेपछि कारबाहीबारे निर्णय हुने

मिति: २०२३-०८-२१ , समय : ०९:०६:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
सत्तारूढ दल जनमत पार्टीले गरेको प्रदेश सांसदहरूको अनुमोदन ‘रेटिङ’मा पार्टी महासचिव चन्दनकुमार सिंह नै फेल भएका छन् । आइतबार सार्वजनिक मतपरिणाममा मधेस प्रदेशका श्रम तथा यातायातमन्त्रीसमेत रहेका सिंहसहित प्रदेशका चार सांसद फेल भएका हुन् । १२ प्रदेश सांसद पास भएका छन् ।

महोत्तरीबाट समानुपातिक सांसद सिंहलाई कुल खसेको ४६ मतमध्ये पक्षमा १४ र विपक्षमा २८ मत प्राप्त भएको छ । सिंहसहित फेल हुने अन्य सांसदहरूमा त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी र अनिताकुमारी साह छन् । त्रिभुवनबाहेक अरू सबै समानुपातिक सांसद हुन् ।

सिराहा ४ (क)का सांसद त्रिभुवनले कुल खसेको एक सय एक मतमध्ये पक्षमा २० र विपक्षमा ७९ मत पाए । चौधरीले खसेको एक सय एक मतमध्ये २१ पक्ष र विपक्षमा ७९ मत पाइन् । महोत्तरीकी सांसद अनिताले भने खसेको ३७ मतमध्ये १४ पक्षमा र २३ विपक्षमा पाइन् ।

जनमतले शनिबार मधेस प्रदेशका १३ र लुम्बिनीका तीन गरेर १६ वटै प्रदेश सांसदको अहिलेसम्मको कामको मूल्यांकन गर्न उनीहरूको सम्बन्धित निर्वाचन क्षेत्रमा मतदान गराएको थियो । मतदानमा पार्टीका वडाध्यक्ष, वडाध्यक्षका प्रत्याशी, पालिकाका पदाधिकारी, पालिकामा उठेका प्रत्याशीहरू, प्रदेश समितिका सदस्यहरू, जिल्ला परिषद्का सदस्यहरू, केन्द्रीय समिति सदस्यहरू र राष्ट्रिय परिषद्का सदस्यले भाग लिएका थिए ।

पार्टी विधानमा रहेको ‘राइट टु रिकल’को व्यवस्था कार्यान्वयन गर्दै यसअघि २७ साउनमा स्थानीय तहका जनप्रतिनिधिको मूल्यांकन गरेको जनमतले अहिले प्रदेश सांसदहरूको अनुमोदन रेटिङ गरेको हो ।

महासचिव सिंह नै फेल भएको परिणामपछि जनमतमा तरंग देखिएको छ । महासचिव सिंह फेल भएपछि अब उनलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने दबाब अध्यक्ष सिके राउतमाथि परेको छ । पार्टीका तर्फबाट प्रदेशमा मन्त्री बनाइएका महासचिवलाई फिर्ता नबोलाइए पार्टीले विधानमा राखेको ‘राइट टु रिकल’को व्यवस्थामाथि नै प्रश्न उठ्ने नेताहरूको भनाइ छ ।

पार्टीका राष्ट्रिय सचिव बिपी साहले फेल भएका चारजना सांसदमाथि पार्टीको अनुशासन कमिटीले छानविन गरेपछि कारवाही प्रक्रिया अघि बढ्ने बताए । ‘पार्टीको महासचिव नै फेल हुनु दुखद हो,’ उनले भने, ‘अब फेल भएका चार सांसदमाथि नै अनुशासन समितीले छानविन गर्छ । छानविनका आधारमा प्रतिवेदन बन्छ । प्रतिवेदनका आधारमा उनीहरूलाई सांसद पदबाट फिर्ता बोलाउने या पहिलो वर्षलाई नसियतसहित चेतावनी दिने भन्ने विषयमा निर्णय हुन्छ । ’

यसअघि जनमतले पालिका र वडाका अध्यक्ष गरेर २२ जनप्रतिनिधिको अनुमोदन रेटिङ भएको थियो । जसमध्ये २१ जनाको पक्षमा बढी मत आएको थियो भने एक जना फेल भएका थिए । फेल हुनेमा सिराहा कल्याणपुर नगरपालिका– ९ का वडाध्यक्ष विनोदकुमार यादव थिए । खसेको कुल २४२ मतमध्ये उनको पक्षमा १०३ मत आएको थियो भने १३५ मत विपक्षमा आएको थियो ।

यादवलाई धेरै खराब रेटिङ नभएकाले पहिलोपटक नसिहत दिने र विशेष स्पष्टीकरण सोध्ने तयारी भएको साहले बताए । ‘अर्को वर्ष पनि यस्तै रेटिङ आयो भने फिर्ता बोलाएर पुनः मतदानको अवस्था सिर्जना गरिनेछ,’ साहले भने । राजनीतिक दलले यसरी प्रदेश सांसदहरूको अनुमोदन मूल्यांकन गरेको यो पहिलोपटक हो । नयाँ पत्रिकामा अनिल यादवले लेखेको समाचार हाे ।

प्रकाशित मिति: २०२३-०८-२१ , समय : ०९:०६:३८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित