कोशी प्रदेश : उपसभामुख अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिन कठिन

मिति: २०२३-०८-२१ , समय : ०६:५८:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिने प्रक्रिया थप जटिल हुने देखिएको छ । सभामुखको समेत जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार आजको बैठकमा अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन कठिन हुनेछ ।

कोशी प्रदेशको सरकार बनाउने र ढाल्ने जोडघटाउमा उपसभामुख दनुवारको उपस्थिति र अनुपस्थिति सङ्ख्यात्मक हिसाबले अर्थपूर्ण हुनेछ । उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने अङ्क गणितीय जटिलता छ । यसअघि मुख्यमन्त्री बन्नका लागि थापाले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेको र अर्को पटक मुख्यमन्त्री बन्न सभामुखलाई नै राजीनामा गराएको कोशीमा विपक्षी गठबन्धनले थापालाई विश्वासको मत पाउनबाट रोक्न ठूलो सङ्ख्यामा सांसद अनुपस्थित गराउने तयारी गरिसकेका छन् ।

एमालेले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मन्त्रीमा नियुक्त गरेको थियो । तर मुुख्यमन्त्री थापालाई रोक्न एमाले र राप्रपाले मण्डल पछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई सभाको अध्यक्षता गर्ने अवस्था सिर्जना गर्न लागेका छन् ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका ७ र राप्रपाका एक प्रदेशसभा सदस्यले उपस्थित हुन नसक्ने सूचना हिजो नै उपसभामुखलाई दिएका छन् । उपस्थित हुन नसक्ने सूचना दिनेहरुमा एमालेका रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी तथा राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा रहेका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनसँग ४७ मत मात्र छ ।

सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नु परे थापाले विश्वासको मत पाउन सक्नुहुन्न । प्रदेशसभा नियमावली अनुसार बैठकको अध्यक्षता गरेका व्यक्तिले कुनै पनि प्रस्तावमा बराबर मत भएको अवस्थामा मात्र मतदान गर्न सक्ने व्यवस्था छ । विपक्षी सांसद अनुपस्थित भएपछि बराबर मत हुने सम्भावना रहँदैन । उज्यालो

प्रकाशित मिति: २०२३-०८-२१ , समय : ०६:५८:५२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित