पटकपटक अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आजदेखि सञ्चालनमा

मिति: २०२३-०८-०८ , समय : १७:४१:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले यही साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । संसद् खुलाउने विषयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाुलवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको थियो ।

आजको बैठकको शुरुमै नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति नै गठन गर्नुपर्ने बताउनुभयो । उच्चस्तरीय समिति नबनाइकन सरकारका मन्त्रीहरूमाथि निष्पक्ष छानबिन हुन नसक्ने भएकाले एमालेले संसद् अवरुद्ध नै गरेर माग गरिरहेको उहाँकाे भनाइ छ ।

यस्तै नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले एमालेले संसद्लाई आफ्नै सम्पत्तिजस्तो बन्धक बनाएको भन्दै आपत्ति जनाउनुभयो । सानातिना विषयमा पनि संसद् अवरोध गर्दा नागरिकका आवाज सांसदले कहाँ उठाउने भनेर उहाँले प्रश्न सोध्नुभएको छ । बाढी पहिरो, विभिन्न आन्दोलन, विभिन्न कानुनलगायतका विषयमा सांसदले सरकारलाई प्रश्न सोध्न नपाएको भन्दै शर्माले विगतमा एमालेकै सरकारका पालमा भएका ठूला ठूला काण्ड आउँदा छानबिन समिति किन नबनाएको भनेर प्रश्न सोध्नुभयाे ।

यस्तै माओवादीका सांसद देवेन्द्र पौडेलले एमालेले सत्ता र शक्ति नपाएको झोँकमा संसद् चल्न नदिएको आरोप लगाउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले दल र नेताहरूको बार्गेनिङ मिलाउनका लागि संसद् अवरोध गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १७:४१:१८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित