भारतकाे गुरुग्राममा मस्जिदमा आगजनी हुँदा एक जनाकाे मृत्युु

मिति: २०२३-०८-०१ , समय : ११:४६:०३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

भारत ।
भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ ।

गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको र अरू केही मानिस घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । यसबारे सुरक्षा निकायले केही जानकारी दिएको छैन । मेवातमा हिजो एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका छन् । कम्तीमा १२ जना घाइते भएका खबरमा उल्लेख छ ।

साम्प्रदायिक हिंसा फैलिएपछि मेवातमा धेरैको सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ । सरकारले भोलि बुधवारसम्म इन्टरनेट बन्द गरिदिएको छ । सन् २००४ मा हरियाणा सरकारले गुरुग्राममा १७ वटा मन्दिरहरू, दुई वटा गुरुद्वारहरू, एक गिर्जाघर र एक मस्जिद निर्माणका लागि जग्गा बाँडफाँट गरेको थियो ।

आगो लगाइएको मस्जिद त्यही जग्गामा निर्माण भएको गुरुग्रामको एक मात्र मस्जिद हो । त्यहाँ वरपर बस्ने मुसलमानहरू नमाज पढ्न आउँछन् । एजेन्सी

प्रकाशित मिति: २०२३-०८-०१ , समय : ११:४६:०३ , १ वर्ष अगाडि