सप्तरी प्रहरीद्वारा जिल्ला प्रहरी कार्यालयमै पत्रकार पोखरेललाई कुटपिट , सिडियाेले मागे माफी

मिति: २०२३-०७-३१ , समय : १७:५७:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष एवम् इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलमाथि जिल्ला प्रहरी कार्यालय सप्तरी भित्रै एक जना असईले कुटपिट गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकका सप्तरी प्रतिनिधि समेत रहेका पोखरेल असई राजेश्वर महतोको कुटपिटका कारण घाईते भएका छन्। धनुषाको मिथिला नगरपालिका– घर भएका महतो जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा कार्यरत छन्। उनले पत्रकार पोखरेलको सम्वेदनशिल अंगमा बुटले हानेको तथा अनुहारमा मुक्का प्रहार गरेको प्रत्यक्ष दर्शीले वताए । समाचार संकलनका लागि प्रहरी कार्यालयमा पुगेका पोखरेलले असई महतोसँग केही तथ्यांक माग गरेका थिए। तर, उनले फुर्सद छैन भन्दै विवाद गरेर अपशब्द प्रयोग गर्दै कुटपिट सुरु गरिहालेको प्रत्यक्षदर्शीको भनाई छ। घाईते पोखरेलको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भईरहेको छ। घट्ना लगत्तै नेपाल पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वास नेतृत्वको टोलीले सप्तरी प्रहरीका एसपी नरेन्द्रकुमार कार्कीलाई भेटेर यस विषयमा छलफल गरेको छ। त्यस क्रममा एसपी कार्कीले दोशी असईलाई तीन दिनभित्र कारवाही गर्ने प्रतिवद्धता जनाएको सचिव विश्वासले जानकारी दिए। मुस्कानसहितको सेवा दिने प्रहरीले यसरी समाचार संकलनका लागि गएका पत्रकारलाई नै कुटपिट गर्नु दुर्भाग्यपूर्ण भएको पत्रकार महासंघ सप्तरीले जनाएको छ। आईतवार मात्रै सप्तरीका सीडीओ भुपेन्द्र थापाले अर्का पत्रकार मनोज माझीलाई दुर्ब्यवहार गरेका थिए। त्यस विषयमा उनले आज माझी समक्ष माफी मागेका छन ।

प्रकाशित मिति: २०२३-०७-३१ , समय : १७:५७:३८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्