कोशी प्रदेशमा कामचलाउ सरकारबारे अन्योल…
मिति: २०२३-०७-२९ , समय : १३:३७:४० , गामघर डेस्क
मिति: २०२३-०७-२९ , समय : १३:३७:४० , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशमा कामचलाउ सरकारलाई लिएर अन्योल भएको छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठन नहुँदासम्म कामचलाउ सरकार कसको भन्ने अन्योल भएको हो ।
सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले आउँदो मंगलबारसम्म नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । तर सरकार गठनको आह्वान गर्दा उहाँले कामचलाउ सरकारबारे केही उल्लेख गर्नुभएको छैन । उहाँले थापाको नियुक्ति बदर भएको स्वीकारे पनि अहिलेको सरकारविहीन अवस्थाबारे केही बोल्नुभएको छैन ।
मुख्यमन्त्रीमा उद्धव थापा नियुक्ति प्रक्रिया नै सर्वोच्चले खारेज गरेपछि कामचलाउ सरकारबारे विवाद छ । महान्यायाधिवक्ता दीनमणि पोखरेलसहित सरकार पक्षका वकिलहरुले अहिले पनि थापा नै कामचलाउका रुपमा यथावत रहेको दावी गरेका छन् ।
पहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ताहरु टीकाराम भट्टराई र डा. भीमार्जुन आचार्यसहितले भने थापाको नियुक्ति नै बदर भइसकेकाले कार्की नै कामचलाउ सरकारमा फर्किसकेको तर्क गरेका छन् । कार्कीले पनि कामचलाउ सरकारको मुख्यमन्त्री आफू नै भएको दाबी गर्नुभएको छ ।
प्रकाशित मिति: २०२३-०७-२९ , समय : १३:३७:४० , १ वर्ष अगाडि