राष्ट्रियसभा बैठकमा आज पनि एमालेकाे अवराेध
मिति: २०२३-०७-०७ , समय : १३:४६:३८ , गामघर डेस्क
मिति: २०२३-०७-०७ , समय : १३:४६:३८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । नेकपा एमालेका सांसदहरूकाे अवराेधपछि राष्ट्रियसभा बैठक आज शुक्रवार पनि स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिलेकाे एक कार्यक्रममा दिएकाे अभिव्यक्तिका कारण उहाँकाे राजीनामा माग्दै एमाले सांसदहरूले आजकाे बैठकमा पनि अवराेध गरेका हुन् । याेसँगै राष्ट्रियसभा बैठक लगातार तेस्राे दिन स्थगित भएकाे छ । एमालेको अवरोधका कारण बुधवार र बिहीवारको बैठक पनि स्थगित भएको थियो ।
बैठकमा एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र नागरिककाे स्वाभिमान र संसद्को गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान लिनुपरेको बताउनु भयो । देशकै सम्मानित पदमा पुगेका व्यक्तिले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि आँच आएकाे उहाँकाे दाबी थियाे । प्रधानमन्त्रीले कुर्सीमा बस्ने नैतिक अधिकार गमाइकेकाले तत्काल राजीनामा दिनुपर्ने उहाँकाे माग थियाे ।
एमाले सांसदहरूकाे अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्काे बैठक पर्सि आइतवार दिउँसाे ११ बजेर ३१ मिनेटमा बस्ने गरी बैठक स्थगित गर्नुभएकाे हाे । उज्यालो
प्रकाशित मिति: २०२३-०७-०७ , समय : १३:४६:३८ , २ वर्ष अगाडि