कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
मिति: २०२३-०७-०६ , समय : १९:२६:४१ , गामघर डेस्क
मिति: २०२३-०७-०६ , समय : १९:२६:४१ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
थापालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ जना सांसदको समर्थन रहेको छ । थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको छ ।
यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकारको दाबी गर्न आज बिहीवार बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो । बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्नेमा कोशीमा दुवै पक्षको बहुमत नपुग्दा अन्योल थियो । तर आज सत्ता गठबन्धनले सभामुखको समेत हस्ताक्षर बुझाएर उद्धव थापालाई मुख्यमन्त्री बनाउन सफल भएको छ ।
तर नेकपा एमालेले भने सरकार गठनको दाबीमा सभामुखले समेत हस्ताक्षर गरेर संविधानकै उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ । प्रदेश प्रमुखले गैरकानुनी नियुक्ति गरेको भन्दै कानुनी उपचार खोज्ने एमालेको तयारी छ ।
प्रकाशित मिति: २०२३-०७-०६ , समय : १९:२६:४१ , २ वर्ष अगाडि