सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अवधि पुससम्म थप्ने सरकारकाे निर्णय
मिति: २०२३-०७-०४ , समय : १९:२९:२१ , गामघर डेस्क
मिति: २०२३-०७-०४ , समय : १९:२९:२१ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाऊ आदेश जारी गरी कार्यावधि थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यी दुवै आयोगको म्याद असार मसान्तसम्म मात्र थियो ।
असारसम्मको बाँकी अवधिमा आयोगसम्बन्धी कानुन संसदबाट ल्याउन असम्भव भएपछि आयोगको कार्यावधि पुस मसान्तसम्म लम्ब्याउनका लागि सरकारले बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको हो ।
उहाँले भन्नुभयो, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यवधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाऊको आदेश जारी गर्ने भन्ने निर्णय भएको छ ।’
बैठकमा निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको पनि शर्माले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: २०२३-०७-०४ , समय : १९:२९:२१ , २ वर्ष अगाडि