कोसी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने सत्तागठबन्धनको निर्णय
मिति: २०२३-०७-०४ , समय : ०९:५५:०६ , गामघर डेस्क
मिति: २०२३-०७-०४ , समय : ०९:५५:०६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
विश्वासको मत पाउन नसकेर एमाले नेतृत्वको सरकार ढलेसँगै कोसीमा कांग्रेस नेतृत्वको सरकार बनाउन सत्तागठबन्धनमा रहेका दलबीच सहमति जुटेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
‘अहिले गठबन्धनभित्र कोसी प्रदेशमा सबैभन्दा ठूलो दल भएकाले कांग्रेसले मुख्यमन्त्रीको दाबी ग¥यो । उसको दाबीअनुसार कांग्रेस कोसीका संसदीय दलका नेता उद्धव थापालाई सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय भएको छ । अपुग सिटसंख्या मिलाएर बहुमत पु¥याउने जिम्मा प्रदेशलाई नै सुम्पिएका छौँ,’ उनले भने ।
हाल गठबन्धनमा सभामुखबाहेक ४६ सांसद छन् । बहुमतका लागि ४७ सांसद चाहिन्छन् । नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु भए पनि सत्ता गठबन्धनमा सहज बहुमत छैन । कांग्रेस २९, माओवादी १३ (सभामुखसहित), एकीकृत समाजवादी ४ र जसपा १ गरी सत्ता गठबन्धनसँग ४७ सांसद छन् । तर, नयाँ सरकार गठनमा सभामुखको भूमिकाबारे स्पष्ट छैन । सरकार गठन सुनिश्चत गर्न गठबन्धनले राप्रपासँग संवाद अगाडि बढाएको छ । गठबन्धन बैठकमा राप्रपासँग संवाद गरेर सरकार बनाउन प्रदेशका नेतालाई जिम्मा दिइएको छ । प्रदेश सभामा राप्रपाका ६ सांसद छन् ।
कोसीमा निर्णायक रहेको राप्रपा कांगे्रस संसदीय दलका नेता थापाप्रति सकारात्मक भइसकेको छैन । थापा कांग्रेस नेता सिटौलानजिकका नेता मानिन्छन् । झापामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन कांग्रेस नेता सिटौलाको कट्टर प्रतिस्पर्धी नेता हुन् । गत मंसिरको निर्वाचनमा पनि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए ।
राप्रपाका कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौला स्वयंले आफूलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन् । तर, राप्रपाले कोसीमा सरकार गठनबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङदेनलाई दिएको छ ।
राप्रपा अध्यक्ष लिङदेनले भने आफूहरूले कसैलाई किस्तीमा मुख्यमन्त्री बुझाउन नजाने बताए । गठबन्धनबाट अहिलेसम्म पहल नभएको उनको भनाइ छ । ‘हामी अहिलेसम्म अनिर्णीत नै छौँ । औपचारिक रूपमा कुनै दलसँग कुरा भएको छैन । अहिलेसम्म सत्ता गठबन्धनलाई समर्थन गर्नुपर्ने कुनै कारण भेटिएको छैन,’ उनले भने, ‘गठबन्धनका तर्फबाट कुनै पहल पनि भएको छैन । त्यसै किस्तीमा मुख्यमन्त्री पद बुझाउन लाने कुरा पनि भएन ।’माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कोसीमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीको सरकार संकटमा परेको थियो । शुक्रबार विश्वासको मतको प्रस्तावमा भएको मतदानमा र सहभागी ८९ सांसदमध्ये पक्षमा ४६ र विपक्षमा ४३ मत खसेको थियो । प्रतिपक्षमा रहेका तीन सांसद अनुपस्थित रहे । ४० सिट रहेको एमालेलाई ६ सिट रहेको राप्रपाले समर्थन गरेको थियो ।
जनमतलाई सरकारमा ल्याउने सहमति….
सत्ता गठबन्धनले जनमत पार्टीलाई सरकारमा सहभागी बनाउने निर्णय लिएको छ । आइतबार बिहान जनमतका अध्यक्ष सिके राउतलाई बालुवाटार बोलाएर सरकारमा आउन आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले सोमबार गठबन्धनको बैठकमा जनमतलाई सरकारमा ल्याउनेबारे परामर्श मागेका थिए । बैठकमा जनमतलाई सरकारमा फर्काउन सबै सहमत भएको बैठकमा सहभागी लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले बताए । ‘जनमतलाई सरकारमा ल्याउन सबै दल सकारात्मक छन् । कुन मन्त्रालय दिएर कसरी मिलाउने, त्यो जिम्मेवारीचाहिँ प्रधानमन्त्रीको हो,’ भण्डारीले भने । एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डेले भने जनमतले दुई मन्त्रालय मागेको अवस्थामा थप एक राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउने सहमति भएको बताए । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०७-०४ , समय : ०९:५५:०६ , २ वर्ष अगाडि