किसानलाई रोपाइँको चटारो : तर, पानी र मल अभाव……

मिति: २०२३-०६-२८ , समय : १५:५१:१८ , गामघर डेस्क

धान राेपाइ गर्दै तराईका किसानहरु....तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । पानी पर्न थालेसँगै किसानलाई धान रोपाइँको चटारो शुरु भएको छ ।

काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका जिल्लामा रोपाइँ भैरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा लगातारजसो पानी परेको छ ।

सुदूरपश्चिमलगायत केही जिल्लामा भने पानीको अभाव हुँदा रोपाइँमा असर परेको छ ।

रोपाइँका लागि पर्याप्त पानी नहुँदा बोरिङबाट तानेर रोपाइँ गर्न थालेको कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा अहिलेसम्म झण्डै १२ प्रतिशतमा रोपाइँ भएको छ ।

यस्तै, रोपाइँ शुुरु भइसक्दासमेत रासायनिक मल नपाएको किसानको गुनासो छ ।

सरकारले यसपटक धान बालीमा मलको अभाव नहुने दाबी गर्दै आए पनि किसानले मकै र धानका लागि पर्याप्त मल पाएका छैनन् ।

आम्दानी गर्ने र जीविका चलाउने मुख्य बालीका रुपमा बर्खे धान बालीलाई लिइन्छ ।

मल र सिँचाइको अभावले मुख्य बालीको उत्पादनमा असर पर्न सक्ने किसानको गुनासो छ ।

उच्च पहाडका जुम्लालगायत आसपासका क्षेत्रमा मार्सी धानको रोपाइँ सकिएको छ ।

प्रकाशित मिति: २०२३-०६-२८ , समय : १५:५१:१८ , १ वर्ष अगाडि