दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ परेपछि भारतभर आम आदमी पार्टीको प्रदर्शन

मिति: २०२३-०२-२७ , समय : १८:०३:४६ , गामघर डेस्क

गामघर डेस्क

भारत । दिल्ली सरकारका उपमुख्यमन्त्री एवम् शिक्षा मन्त्री मनीष सिसोदिया पक्राउ परेको विरोधमा आम आदमी पार्टीले भारतभर प्रदर्शन गरेको छ ।

सिसोदियालाई सन् २०२१ मा राज्य सरकारले बनाएको जाँड–रक्सी सम्बन्धी नीतिमा अनियमितता भएको आरोपमा केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले पक्राउ गरेको हो । सीबीआईले सिसोदियाले मदिरा व्यवसायीको पक्षमा नीति परिवर्तन गरेको आरोप लगाएको हो ।

सिसोदियाले आफूविरुद्ध झुटो आरोप लगाएको बताउनुभएको छ । आरोप प्रमाणित भएमा उपमुख्यमन्त्री सिसोदियासहित आरोपित व्यक्तिहरूलाई छ महिनादेखि आजीवन कैदसम्मको सजाय हुन सक्ने छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सबैभन्दा नजिकका विश्वासपात्र मानिएका सिसोदिया पक्राउ परेपछि सत्तारूढ भारतीय जनता पार्टी र आम आदमी पार्टीबबीच आरोपप्रत्यारोप चलिरहेको बीबीसी हिन्दीले जनाएको छ । मुख्यमन्त्री केजरीवालले सिसोदियाविरुद्ध कुनै प्रमाण नभए पनि सीबीआईले राजनीतिक दबाबमा आएर पक्राउ गरेको आरोप लगाउनुभएको छ ।

देशभरमा पार्टीको सङ्गठन विस्तारमा सिसोदियाले अघि सारेको दिल्ली मोडेलको शिक्षा नीतिको प्रचार हुने गरेको छ । सिसोदियाले दिल्ली सरकारका विभिन्न १८ वटा विभाग सम्हाल्दै आउनुभएको छ । विपक्षी दलहरूले सीबीआईलाई भाजपाले दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् ।

भारतीय सञ्चारमाध्यम क्विन्टका अनुसार सीबीआईले अनुसन्धान गरिरहेका एक सय २४ मुख्य नेतामध्ये एक सय १८ जना विपक्षी दलका रहेका छन् । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १८:०३:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित