कृषिमा क्रान्ति भए मात्र देशकाे बिकास सम्भव हुने:जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव

मिति: २०२३-०५-१४ , समय : २१:०९:४६ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । पूर्व उप–प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताउनुभएको छ ।

सप्तरीको सदरमुकाम राजविराजमा आज मधेश कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बीएसी एजीको पठनपाठन शुभारम्भ कार्यक्रममा उहाँले साे कुरा बताउनुभएको हाे । उहाँले ‘विश्वका विभिन्न मुलुकहरु कृषिकै कारण समृद्ध भएको छ तर नेपाल जस्तो कृषि प्रधान देशले उर्वरभूमि हुँदा पनि प्रगति गर्न सकेको छैन ।

अध्यक्ष यादवले नेपालमा वर्षेनी चार खर्बको खाद्यान्न लगायतका सामग्रीहरु आयात हुँदै आएको छ, यो अन्यन्तै दुखद् हो ।’ परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने दावी गर्दै उनले कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

किसानलाई प्रविधिसँग जोडेर कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाई उत्पादन एवम् रोजगारमूलक बनाउनुपर्छ’ उहाँले भन्नुभयो ‘कृषि क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोडेर अगाडि बढे नेपाल उत्कृष्ट मुलुक बन्ने कुरा निश्चित छ ।’

प्रतिनिधि सभाका सदस्य समेत रहेका जसपा अध्यक्ष यादवले शिक्षाको स्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षामा समेत जोड दिनुभयो ।

मधेश प्रदेशमा कृषि विश्वविद्यालय स्थापना भई कक्षा समेत सञ्चालन हुन लागेकोमा खुशी व्यक्त उनले भने, ‘अब कृषि सम्बन्धि अध्ययन अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान मिल्नेमा आशावादी छु ।’

‘मधेश कृषि विश्वविद्यालय राजविराजमा स्थापना हुँदा केही व्यक्तिहरुले बोर्ड मात्रै झुण्ड्याएको भन्दै कक्षा पनि सञ्चालन हुन्छ र…? भनि मजाक समेत उडाए’ उनले थपे, ‘आज कृषि विश्वविद्यालयले बीएसी एजीको पठनपाठन सञ्चालन गर्दैछ, यो नै मजाक उडाउनेहरुका लागि जवाफ हो ।’

सोही कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सरकारले आवश्यकता र औचित्यको आधारमा कृषि, सिंचाई, शिक्षा लगायतका छुट्टै मन्त्रालयहरु विस्तार गरी अगाडि बढाउने बताउनुभयो ।

विषयगत मन्त्रालय भएपछि सम्बन्धित विषयमा काम गर्न सहज हुनेछ’ उहाँले ‘प्रदेश सरकार कृषि र शिक्षालाई प्राथमिकतामा राखि काम अगाडि बढाएको छ, उत्पादन एवम् रोजगारमूलक क्षेत्रहरुमा मधेश प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको छ ।’

आफुहरु नीति तथा कार्यक्रम र बजेट विनियोजनमा केन्द्रित रहेको चर्चा गर्दै निर्वाचनहरुका कारण लागेको आचारसंहिताले गर्दा अपेक्षाकृत काम अगाडि बनाउन नसकिए पनि नयाँ आर्थिक वर्ष साउनको दोस्रो सातादेखि नै मधेश प्रदेश सरकार कामहरु अगाडि बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अब असारे बजेट खर्च गर्ने परम्पराको हामी अन्त्य गर्छौं, यो मधेशी जनताको सरकारको हो, म हुन्जेलसम्म भ्रष्टाचार हुन दिन्नँ’ उहाँले भन्नुभयो शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले मधेशको साक्षरता प्रतिशत अन्यन्तै न्यून रहेकोले आफु जिम्मेवारी सम्हालेकै दिन मधेशलाई पूर्ण साक्षर प्रदेश बनाउने निर्णय गरेको बताए । ‘कुनै बेला बौद्धिकताको परिचय दिने मधेश प्रदेशका जिल्लाहरुको साक्षरताको अवस्था यतिबेला कहालीलाग्दो रहेको छ । ‘मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउन हामी प्रतिवद्ध छौं भन्दै प्रदेश नीति आयोगका अध्यक्ष डा. नाथुराम चौधरीले नीति तथा कार्यक्रम र बजेट विनियोजनमा मधेश प्रदेश सरकारले कृषि, शिक्षा, रोजगार एवम् उत्पादनमूलक योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

सामूदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अत्यन्तै कमजोर रहेको बताउँदै मन्त्री यादवले शैक्षिक गुणस्तर सुधारका लागि विशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो ।

विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्टार डा.भगवान ठाकुरले कृषिको आधुनिककरण र रुपान्तरण गरी जनताको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउन उच्च शैक्षिक र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रतिवद्ध रहेको जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा हाल कृषि स्नातक कक्षा शुभारम्भ भएपनि पीएचडीसम्मको अध्ययन अध्यापनका साथै कृषिमा अनुसन्धानहरु हुने छन् ।

राजविराजमा मधेश कृषि विश्वविद्यालयमा हाल बीएसी एजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएका छन् । जसपा अध्यक्ष यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य हुँदा मधेश प्रदेश सरकारसँग विशेष पहल कदमी लिएर सप्तरीमा मधेश कृषि विश्वविद्यालय स्थापना गराउनुका साथै आवश्यक बजेट विनियोजन गर्न लगाएका थिए ।

प्रकाशित मिति: २०२३-०५-१४ , समय : २१:०९:४६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित