बिहानैदेखि चर्काे गर्मी : मधेस प्रदेशमा अधिकतम तापक्रम बढ्दै , गर्मीसँगै संक्रामकजन्य रोगको जोखिम बढ्यो

मिति: २०२३-०५-११ , समय : ०९:०६:२९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । देशका धेरै ठाउँमा बिहानैदेखि चर्काे गर्मी बढेको छ । गर्मी अझै बढ्ने मौसमविद्को अनुमान छ ।

केही दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ । विराटनगरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

मौसमविद् सन्जिब अधिकारीका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको छ ।

अन्य तराईका जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि टन्टलापुर घाम लाग्ने अनुमान छ ।

आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मौसम बदली भइ हल्का पानी पर्ने अनुमान छ ।

यस्तै, लुम्बिनी प्रदेशका तराई मधेसका जिल्लाहरुमा हावाहुरी चल्ने अनुमान छ ।
यसेगरि गर्मी बढेसँगै विभिन्न संक्रमणजन्य रोगको जोखिम बढ्न थालेको डाक्टरले बताएका छन् ।

यतिबेला औलो, डेंगी, कालाजार, जण्डिस, टाइफाइड, झाडापखाला, हैजालगायत रोगको जोखिम धेरै हुने डाक्टरले बताएका छन् ।

उनीहरुका अनुसार प्रि–मनसुन र मनसुनमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने रोगसँगै दूषित पानी, अस्वस्थकर खानेकुरा र सरसफाइको कमीका कारण संक्रामक रोग फैलिने जोखिम धेरै हुन्छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गर्मी बढेकाले यतिबेला प्रशस्त मात्रामा शुद्धीकरण गरिएको वा उमालेको पानी र पानी पाइने फलफूल खानुपर्छ ।

यस्तै, सडक छेउछाउमा खुला रुपमा राखिएका खानेकुरा, बासी तथा सडेगलेका खाना नखान र खाना खानु अघि सफासँग साबुनपानीले हात धुन उहाँको सुझाव छ ।

यस्ता सामान्य कुरामा ध्यान दिन सके झाडापखाला, हैजा, जण्डिस जस्ता रोगबाट जोगिन सकिने डाक्टर पुनले बताउनुभयो ।

यस्तै, औलो, डेंगी, कालाजार जस्ता रोगबाट जोगिन लामखुट्टे र भुसुनाको टोकाइबाट बच्नु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ ।

घर वरिपरिका झाडी तथा खाल्डाखुल्डी पुर्न, पूरा बाहुला भएका कपडा लगाउन र लामखुट्टे तथा भुसुनालाई भगाउने खालका औषधिको प्रयोग गर्न र सुत्ने बेलामा झुल टांग्न डाक्टर मरासिनीको सुझाव छ ।

प्रकाशित मिति: २०२३-०५-११ , समय : ०९:०६:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित