सप्तरीका हरवा चरवाको पुनःस्थापन हुनुपर्ने जोड
मिति: २०२३-०५-१० , समय : १९:२६:४२ , गामघर डेस्क
मिति: २०२३-०५-१० , समय : १९:२६:४२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीका हरवा चरवाका लागि विशेष सहुलियत सहित पुनःस्थापन हुनुपर्ने वक्ताहरुले एक कार्यक्रममा जोड दिएका छन् ।
“मुक्त हरवा चरवाको न्यायिक पुर्नस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा हाम्रो अधिकार” नारा राखेर बुधबार जनचेतना दलित संगम सप्तरीले राजविराजमा आयोजित गोक्ष्ठीमा “राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा हरवा चरवा र दलितको पहुँच” हुनुपर्नेमा वक्ताहरुले यस्तो माग गरेका हुन् ।
राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका अध्यक्ष दशन मण्डल, महासचिव लागेन्द्र सदा, हरवा चरवा मञ्चका जिल्ला अध्यक्ष गंगाराम, राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष शिवकुमार पासवान, कानुन व्यवसायी केशरलाल खंग, जनचेतना दलित संगमका अध्यक्ष रामलखन राम, कार्यकारी निर्देशक इन्द्र प्रसाद राम, दलित अगुवा शोभितलाल राम, चन्देश्वरी देवी सदा लगायतले पुस्तौदेखी गरिबीमा पिल्सिएको तथा एलानी जग्गामा बासेवास गर्दै आएका हरवा चरवा कुनै बेला पनि उठिवास हुन सक्ने चिन्ता र त्रासमा बाचिरहेपनि सरकारले अहिलेसम्म आशवासन बाहेक केही नदिएको गुनासो पोखनु भयो ।
राष्ट्रिय हरवा चरवा मञ्चका अध्यक्ष दशन मण्डलले तीन पुस्तासम्म गिरहत कहाँ बसेर काम गर्दा पनि ऋणबाट मुक्त हुन नसकेको र ९ महिनाअघि सरकारले गरेको वाचा अहिलेसम्म पुरा नगर्दा हरवा चरवाको जिवन कष्टकर बन्दै गएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, राष्ट्रिय भूमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादव लगायतले आफूहरु हरवा चरवाको समस्या बारे पूर्ण जानकार रहेको बताउनु भयो । हरवा चरवाको समस्या समाधानका लागि आफूहरुले आ–आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता समेत जाहे गर्नु भयो ।
कार्यक्रममा दलित अगुवा एवं पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवाको समस्या समाधान तथा हकअधिकारका लागि तयार पारिएको माग र भावी आन्दोलन कार्यक्रमसहितको कार्ययोजना पत्र प्रस्तुत गरेका थिए । कार्ययोजना पत्रमा आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति कार्यक्रम र बजेटमा हरवा चरवाको पक्षमा विशेष कार्यक्रम ल्याउन प्रमुखताका साथ सरकारसँग माग गरिएको छ ।
प्रकाशित मिति: २०२३-०५-१० , समय : १९:२६:४२ , २ वर्ष अगाडि