वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग
मिति: २०२३-०४-२७ , समय : १८:१३:०३ , गामघर डेस्क
मिति: २०२३-०४-२७ , समय : १८:१३:०३ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार जारी गरेको वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हित विपरीत रहेको भन्दै सरोकारवालाहरूले यो निर्देशिकाको खारेजीको माग गरेका हुन् ।
बिहीवार संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न सङ्घ–संस्थाहरूले याे निर्देशिका विद्यार्थी, अभिभावक र व्यवसायीको हित विपरीत आएको बताएका छन् । विद्यार्थीहरूले आफ्नो इच्छा र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने सवालमा निर्देशिका तगारो बनेको भन्दै यसलाई पूर्णरूपमा परिवर्तन गर्नुपर्ने माग गरिएको छ ।
शिक्षा ऐन अथवा शैक्षिक परामर्शसँग जोडिएको ऐन बनाएर त्यसैको जगमा टेकेरमात्रै निर्देशिका आउनुपर्ने ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताउनुभयो । निर्देशिका सही मनशायबाट नआएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मन्त्रालयले जारी गरेकेा निर्देशिकामाथि सन्देह छ । त्यो भएर पहिलो माग यो निर्देशिका खारेजी हुनुपर्छ भन्ने हो । जबसम्म खारेजीमा पुग्दैन तबसम्म यसका केही संशोधनलाई हामी आंशिक रूपमा स्वागत चाहिँ गर्नसक्ने ठाउँमा छौँ । यो निर्देशिका सही मनशायबाट सुधार गर्ने र कार्यान्वयन गर्ने प्रक्रियामा मन्त्रालय लागेको छैन । यसका धेरैजसाे विषयवस्तु नेपाली विद्यार्थीहरूले आफ्नो इच्छाअनुसारको शिक्षा, आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्ने सवालमा अझै पनि तगारो छ ।’
सरकारले जारी गरेको निर्देशिका शिक्षाको सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थाको विरुद्धमा रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १८:१३:०३ , २ वर्ष अगाडि