बारा २ र चितवन २ मा ६० प्रतिशत मत खसेको अनुमान, तनहुँ क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मात्रै मत खस्यो, मतगणनाको तयारी पूरा…..
मिति: २०२३-०४-२३ , समय : १८:०६:०८ , गामघर डेस्क
मिति: २०२३-०४-२३ , समय : १८:०६:०८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा बेलुका ५ बजेसम्म करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।
शान्तिपूर्ण मतदान भएको र ६० प्रतिशत बढी मत खसेको आफूहरूको अनुमान रहेको बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। मतदान अधिकृतबाट रुजु भइरहेकाले खसेको प्रतिशतको यकिन तथ्यांक आउन केही समय लाग्ने उनले बताए।
निर्वाचन अधिकृत उपाध्यायले मतगणनाको सम्पूर्ण तयारी पूरा भइसकेको र मतपेटिका संकलन गरिसकेपछि यथाशक्य चाँडो मतगणना सुरु गरिने बताए। ‘मतपेटिका भण्डारपछि सर्वदलीय बैठक राखेर कलैयाको गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा मतगणना सुरु गर्छौं,’ उनले भने। त्यसेगरि उपनिर्वाचनअन्तर्गत चितवन २ मा करिब ६० प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत वासुदेव न्यौपानेले शान्तिपूर्ण रूपमा मतदान सकिएको र ६० प्रतिशत मत खसेको जानकारी दिए।
भौगलिक विकटताका कारण मतपेटिका संकलन गर्न समय लाग्ने भएकाले मतगणना सुरु हुन भने समय लाग्ने उनले बताए। ‘मतपेटिका संकलन गरिसकेपछि १०–११ बजेतिर सर्वदलीय बैठक राखेर अघि बढ्छौँ,’ उनले भने। यस्तै तनहुँ क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले ५२ देखि ५३ प्रतिशत मात्रै मत खसेको बताए।
तनहुँ १ मा खटिएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि न्यून मत खसेको बताए। ‘यहाँ भएका सबैले भोट हालेको मतदान केन्द्रको निरीक्षणमा पाएँ। विदेश गएका, जिल्लाबाहिर रहेका धेरै भएकाले कम मत खसेको हुनुपर्छ,’ उनले भने।
निर्वाचन अधिकृत आचार्यले मतपेटिका प्राप्त भएपछि उम्मेदवारसँग सल्लाह गरेर मतगणना थालिने बताए। ‘गणना सुरु गर्दा ११–१२ बज्ला। उम्मेदवारसँग सल्लाह गर्छु। राति नै गरौँ भने हामी तयारै छौँ। बिहान गरौँ भने बिहान फर्स्ट आवरमा सुरु गर्छौं। जिल्ला समन्वय समितिको हलमा गणनाको तयारी छ,’ उनले भने।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : १८:०६:०८ , २ वर्ष अगाडि