परराष्ट्रमन्त्री साउदद्वारा शपथ ग्रहण, लगत्तै सिंहदरबार पुगेर पदबहाली
मिति: २०२३-०४-१६ , समय : १६:५७:०२ , गामघर डेस्क
मिति: २०२३-०४-१६ , समय : १६:५७:०२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । आज आइतवार दिउँसाे राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष शपथ ग्रहण गर्नुभएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका उहाँ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को पूर्वअध्यक्ष एवम् पूर्वमन्त्री पनि हुनुहुन्छ ।
यसैबीच नवनियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्नुभएकाे छ । पदबहालीपछि पत्रकारसँग कुरा गर्दै मन्त्री साउदले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्ने बताउनुभयो । नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रूपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लक्षित रहेर काम गर्ने भन्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने पनि बताउनुभयो ।
सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आज शपथ लिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले वैशाख दोस्रो हप्तासम्ममा भारत भ्रमण गर्ने तयारी गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । चपाईंले पनि आजै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्नुभएकाे छ । उज्यालो
प्रकाशित मिति: २०२३-०४-१६ , समय : १६:५७:०२ , २ वर्ष अगाडि