यसकारण चाहिन्छ बारालाई उपेन्द्र यादव…..
मिति: २०२३-०४-१६ , समय : १६:४२:३३ , अनिल वर्मा
मिति: २०२३-०४-१६ , समय : १६:४२:३३ , अनिल वर्मा
अनिल वर्मा
काठमाडौं ।
सप्तरीलाई बौद्धिक र राजनीतिक चेतना भएको जिल्ला मानिन्छ तर त्यहाँका धर्तीपुत्रलाई पहिचान गर्नमा पटक पटक भुल गरेको देखिन्छ । देशमै पहिलो पटक गणतन्त्रको आवाज उठाउने क्रान्तिकारी नेता स्व.रामराजाप्रसाद सिंह, स्व.गजेन्द्रनारायण सिंह, किसान आन्दोलनका नेता स्व.कृष्णराज वर्मा, तत्कालिन शान्तिपूर्ण राजनीतिमा रहँदा जयकृष्ण गोईत जस्ता धर्तीपुत्रलाई सप्तरीका मतदाताले चिन्नमा भुल गरेका हुन् । त्यसरी समयमा नचिन्दा सप्तरीले दुख पाएको थुप्रै उदाहरणहरु छन् । त्यति मात्र होइन, सप्तरी विकास निर्माणदेखि विभिन्न कुरामा पछाडी परेका छन् ।
नत्र यत्रा पढे लेखेका तथा ठूला ठूला नेता भएको सप्तरी विकासको नाममा किन पछाडि परेको छ भन्ने खोज्दै गएपछि सप्तरीबासीले आफ्ना नेतालाई चिन्न नसक्नु नै मुख्य कारण हो । पछिल्लो समय सप्तरीका मतदाताले त्यहाँका धर्तीपुत्र उपेन्द्र यादवलाई पहिचान गर्न नसकेर भुल गरेका छन् । अब सप्तरी फेरि २५ वर्ष पछाडी पर्ने भएको छ । उपेन्द्र यादवले सप्तरीको मुहार फेर्ने कसम खानु भएको थियो र त्यसको सुरुवात गरिसक्नु भएको थियो । वर्षौ वर्षसम्म नभएको काम उपेन्द्र यादवले सप्तरीमा पाँच वर्षमै गरेर देखाउनु भयो ।
सायद अब फेरि त्यसरी कसैले काम गर्न सक्दैनन् । उपेन्द्र यादव जतिको काम गरेर अहिलेका सांसद डा.सिके राउतले देखाइ दियोस् मेरो चुनौती छ । सप्तरीबासी गरेको गल्तीको मूल्य चुकाउनै पर्छ । गजेन्द्रनारायण सिंह पनि जितेपछि सप्तरीमा थुप्रै योजनाहरु लग्नु भयो । कामहरुको सुरुवात भएको थियो । तर पछि त्यही जनताले उहाँलाई हराए । त्यसपछि सबै काम ठप्प थियो ।
धेरैपछि उपेन्द्र यादव जितेर गएपछि कामको सुरुवात गर्नुभएको थियो । शिक्षा र स्वास्थ्यको हब नै बनाउने गरि काम अगाडी बढाउनुभयो । सबै सडक पक्की सडक भयो । गाउँगाउँमा पीच बाटो पुग्यो । सप्तरीबासीले कल्पना समेत गरेका थिएनन् त्यति काम उपेन्द्र यादवले गरेर देखाई दिनुभयो । पचास बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४२० बेडको अत्याधुनिक भौतिक पूर्वाधार सम्पन्न अस्पताल बनाउनु, नर्सिङ्ग कलेज, कृषि विश्व विद्यालय, इन्जिनियरिङ्ग कलेज निर्माण, सामुदायिक विद्यालयहरुमा पक्की भवन निर्माण लगायतका कार्यहरु उहाँले गर्नुभयो । यस्तै, राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि स्थापना गर्न सफल हुनुभयो । प्रतिष्ठानको डिपीआर सम्पन्न भएको छ ।
यसैगरी राजविराज चत्रपथ सडकसहित गाउँहरुसम्म पक्की बाटो पुर्याउन दर्जन बढी सडकहरुको काम अगाडि बढाएका छन् । भारतको नेशनल हाइवेसँग जोड्न न्यौर, छिन्नमस्ता–राजविराज–रुपनी हुँदै गाईघाटदेखि सोलुखुम्बुु जोड्दै चाइनाको केरुङ्ग नाका जोड्ने गरी सडक सञ्जाल निर्माण गर्नमा विशेष पहलमा अगाडि बढाउनु भएको थियो । तर अब सप्तरीबासीले त्यहीं सिके राउतबाट काम लिएर देखाई दियोस् । उपेन्द्र यादवले बनाउन सुरु गर्नुभएको अधुरा काम पनि पुरा गरेर देखाई दियोस् अनि म मान्छु । चुनाव सकेको त पाँच महिना मात्र भएको छ । कम्तीमा एक वर्ष बितोस् अनि सप्तरीवासीले उपेन्द्र यादवलाई हराएर गल्ती गरे कि सही गरे मूल्यांकन गर्नेछन् ।
उपेन्द्र यादवले विकास निर्माणका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको सुनिश्चितता, समावेशिता र आरक्षण लगायतका अधिकारहरु सुनिश्चित गराउने काम गर्नुभयो । आज मधेशीका छोराछोरीहरु भटाभट लोकसेवाबाट नाम निकालेर सरकारी जागिर खाइरहेका छन्, त्यो उपेन्द्र यादवको देन हो । आरक्षण कोटामा छोराछोरीले डाक्टर, नर्स, इञ्जिनियरिङ पढ्न पाएक छन्, त्यो पनि उपेन्द्र यादवको देन हो ।
उपेन्द्र यादवको देन होइन भने कसैले प्रमाणित गरेर देखाओस् । त्यति मात्र होइन, छालाको रङ्गको आधारमा मधेशीलाई आफ्नै देशमा मर्सिया, भैया, बिहारी, धोती जस्ता शब्दले अपमानजनक व्यवहार गरिन्थ्यो । मधेशी जनता अर्थात कालो अनुहारलाई भैया, मर्सिया, मदिसे ईत्यादी उपनामले अपमानित हुनु परेको थियो । तर उपेन्द्र यादवले ती मधेशीलाई आज गर्व गर्न लगायक बनाउनु भएको छ । प्रदेश २ नम्बर मधेश प्रदेश नामाकरण गराउने व्यक्ति सिर्फ उपेन्द्र यादव हुनुहुन्छ । सात प्रदेशमा उपेन्द्र यादव जस्तो काम अरु कसैले गर्न सकेनन् ।
जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित, सिमान्तकृत समुदाय, जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि जनता समाजवादी पार्टी नेपालको अध्यक्षको रुपमा निरन्तर सङ्घर्षको मैदानमा हुनुहुन्छ । उहाँको जन्म, शिक्षादीक्षा समेत सप्तरीमै भएकोले मातृभूमीको साइनो त छ नै सप्तरीको माटोसँग । मधेश आन्दोलनको प्रमुख केन्द्र सप्तरी नै भएकोले बढी समय दिनु स्वाभाविक हाे । शैलेन्द्र यादवकाे फेसबुकवालबाट
प्रकाशित मिति: २०२३-०४-१६ , समय : १६:४२:३३ , २ वर्ष अगाडि