भारतको पन्जावमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

मिति: २०२३-०४-१६ , समय : १३:३९:५४ , गामघर डेस्क

मृतक महिला अनिता.....तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

नयाँ दिल्ली। भारतमा नेपालीको मृत्यु हुने क्रम दिनानुदिन बढ्दो छ। पञ्जाबस्थित गुरदीप कालोनीमा २६ वर्षीया विवाहित नेपाली युवतीको शंकास्पद मृत्यु भएको छ। मृतक युवतीका बुवाका अनुसार दाइजाेकाे निहुमा हत्या गरेकाे अभियाेगका युवतीका श्रीमान,सासु र सुसुरा विरूद्ध मुद्दा दायर गरिएकाे छ।

२६ वर्षीया अनिताको करिब दुई वर्षअघि गुरदीप कालोनी अबलोवल निवासी शंकर शर्मासँग विवाह भएको थियो। शंकर निजी काम गर्छन्। उनकी पाँच महिनाकी छोरी पनि छन्।

छत्रदेव गाउँपालिका-१, अर्घाखाँची स्थायी घर भई दीपनगर पटियाला वसोबास गर्ने युवतीका बुबा रामप्रसादले विवाहपछि आफ्नी छोरीलाई दाइजोका लागि दुर्ब्यबहार गरेको आरोप लगाएका छन्। कम दाइजो ल्याएको भन्दै ससुरा र सासुले बेलाबेला यातयना दिने गरेको उनले बताए।

अप्रिल ३ गते साँझ ५ः३० बजे मृतकका ससुरा विमलप्रसादले सम्धी रामप्रसादलाई फोन गरेर अनिता सलमा पासाे लगाएर आत्महत्या गरेको बताए। माइती परिवार घटनास्थल पुग्दा अनिता खाटमा पल्टिरहेकी थिइन्। उनको घाँटीमा डामहरू थिए। कसैले घाँटी थिचेको जस्तो निशान थिए। छोरीको आत्महत्या नभई सुनियोजित हत्या भएको बुबाको आरोप छ।

सल पंखामा झुण्डिएको थियो। तत्कालै उनलाई अस्पताल पुर्याइयो। डाक्टरले उनको मृत्यु भएको घोषणा गरे। पुलिस स्टेशन सिभिल लाइनले श्रीमान्, सासु गीतादेवी, ससुरा र विवाहित बहिनी सुनिताविरुद्ध मुद्दा दर्ता गरेको छ। श्रीमान् र ससुरालाई पन्जाब प्रहरीले पक्राउ समेत गरेर अनुसन्धान गरेको छ।

माइति पक्षका अनुसार युवतीलाई आफ्ना आमाबुवालाई फोन गर्न दिइएन न त फोन उठाउन दिइयो। जसको परिणाम स्वरूप अनिताको यो अवस्था आयो। भुमिकास्थान नगरपालिका-२, अर्घाखाँची स्थायी घर भइ पन्जाबमा बसोवास गर्ने शंकर शर्मा र अनिता बीच करिब दुई वर्षअघि बिवाह भएको थियो। अनिताले अक्टोबर २०२२ मा छोरीलाई जन्म दिइन्। त्यसपछि ससुराले उनलाई झनै दुर्ब्यबहार गर्न थाले।

घरायसी मनमुटाव र झगडा निरन्तर चल्यो। त्यसपछि नोभेम्बर २०२२ मा रामप्रसादले आफ्नी छोरीलाई मामाघरमा ल्याए। पछि दुवै पक्षबीच आपसी सम्झौता भएपछि अनिता ससुरा घर गएकी थिइन्। एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-१६ , समय : १३:३९:५४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित