मधेस प्रदेश : नगरपालिकाका निमित्त प्रमुख प्रशासकीयको डेढ करोड गैरकानुनी सम्पत्ति
मिति: २०२३-०४-१० , समय : ०८:१२:०३ , गामघर डेस्क
मिति: २०२३-०४-१० , समय : ०८:१२:०३ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मधेस प्रदेशकाे रौतहटको ईशनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
स्रोत नखुलेको एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ रकमलाई बिगो कायम गरेर अख्तियारले आइतबार अदालतमा मुद्दा दायर गरेको हो। २९ वैशाख ०५१ मा सार्वजनिक सेवा प्रवेश गरेका गुप्ताको २५ जेठ ०७९ सम्मको आम्दानी र खर्चमाथि अख्तियारले छानबिन गरेको थियो।
‘अनुसन्धान अवधिमा विद्यमान सम्पत्ति एक करोड ४९ लाख ९७ हजार ८६४ बराबरको स्रोत नखुलेको हुँदा सार्वजनिक पद धारण गरेका नन्दकिशोर गुप्ताले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन जानुका साथै मनासिव कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भयो,’ अख्तियारले अदालतमा दायर गरेको आरोप-पत्रमा उल्लेख छ।
सोही रकमलाई बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो। पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति पत्नी उषा गुप्ताको नाममा जग्गा खरिद तथा घर निर्माणलगायतमा खर्च गरेको भेटिएको आरोप-पत्रमा उल्लेख छ।
सम्पत्ति जफतको प्रयोजनका लागि अख्तियारले पत्नी उषा गुप्तालाई पनि प्रतिवादी कायम गरेको छ। नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०४-१० , समय : ०८:१२:०३ , २ वर्ष अगाडि