मधेस प्रदेश : बटेश्वर गाउँपालिकामा सेटिङको योजनामा व्यापक भ्रष्टाचार
मिति: २०२३-०४-०७ , समय : ०९:४३:२० , गामघर डेस्क
मिति: २०२३-०४-०७ , समय : ०९:४३:२० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
धनुषाको बटेश्वर गाउँपालिका —१ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण अधुरो छ । आर्थिक वर्ष २०७८÷०७९ मा पिलर खडा गरी छतसम्म हालेर छाडिएको छ । अधुरो भवनमा छत र सल्याबमा भित्र जडान गरेको फलामे छड यत्रतत्र सहजै देख्न सकिन्छ । केही पिलर टालटुल पनि पारिएको छ ।
छत मिलेको छैन । यो अधुरो भवन आर्यन कन्ट्रक्सन, राजपुर रौतहटले निर्माण गरेको हो । ४६ लाख ५० हजारमा चार कोठे भवन पूर्णरुपमा बन्ने मौखिक जानकारी विद्यालयका प्रधानाध्यापक श्याम महतोले पाएको बताउँछन् । तर, अधुरै भवनको आर्यन कन्ट्रक्सनलाई ४६ लाख ५० हजारबजेटबाट ४५ लाख ६५ हजार ९८३ रुपैयाँ गाउँपालिकाले भुक्तानी गरेको छ ।
Sponsored
‘भवन निर्माणको लागि पालिकाले कुनै समन्वय गरेको छैन् । सुरुमा पिलर खडा गर्ने बेला टाढाटाढा छड हालेको थियो । हामीले भनेपछि ठीक तरिकाले राख्यो’ उनले भने ‘छत हाल्ने बेला एउटा पिलर नै बांगियो । त्यसैले छतको समतल मिलेको छैन ।’
शिक्षाको विभिन्न शीर्षकबाट रकमान्तर गरि अधुरो भवन निर्माण गरेपनि शिक्षा शाखासंग कुनै समन्वय नै गरेन । ‘आईसिटी ल्याब, कम्पुटर ल्याब, साइन्स ल्याब र शिक्षा अनुदानकोबजेट रकमान्तर गरि लक्ष्मी माविको अधुरो भवन निर्माण गरिएको छ । तर, शिक्षा शाखासित कुनै छलफल समन्वय गरिएन ।’ शिक्षा शाखा प्रमुख रामलाल महतोले भने । एक प्राविधिका अनुसार भवन निर्माणमा चरम लापरबाही भएको छ।
लक्ष्मी माविकै भवन जस्तै अवस्था छ वडा नं. २ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको निर्माणधीन आठ कोठे अधुरो भवनको । उस्तै ठाउँ ठाउँमा छड देखिन्छ । जग कमसल जस्तो छ । विद्यालयसित कुनै समन्वय नगरी भवन निर्माण गरेको प्रधानाध्यापक राजकुमार राउत बताउँछन् । असार मसान्तको अन्तिममा वर्तमान पालिका अध्यक्ष रामअशिष महतो आफ्नै निगरानीमा उक्त भवन बनाएको बताउँछन् । ‘ससर्त अनुदानको बजेट थियो । फ्रिज हुन्छ भनेर हतारहतार २२ दिनमै निर्माण गरिएको छ । म आफै बसेर त्यो भवन बनाउन लगाएको हुँ’ पालिका अध्यक्ष महतोले भने ।
Sponsored
प्राविधिकले यो भवन निर्माणमा पनि लापरबाही भएको बताउँछन् । यो अपुरो भवन पनि आर्यन कन्ट्रक्सन, राजपुर रौतहटले बनाएको हो । गत आर्थिक वर्षको विनियोजित ८३ लाख रुपैयाँमा आठकोठे भवन पूर्ण रुपमा बनाउनु पर्ने थियो । तर अधुरो काममा आर्यन कन्ट्रक्सनलाई ५४ लाख ८९ हजार ३४७ रुपैयाँ भुक्तानी गाउँपालिकाले दिएको हो ।
आर्यन कन्ट्रक्सनले निर्माण गरेको पालिकाको प्रशासनिक दोश्रो तल्लामा दुई विद्यालयको भवनको अवस्था भन्दा फरक छैन । छत हालेर वालसम्म खडा गरिएको यो भवनको निर्माण बापत आर्यन कन्ट्रक्सनलाई ५९ लाख ९९ हजार १७२ रुपैयाँ मध्ये ५७ लाख १८ हजार ५७९ रुपैयाँ भुक्तानी दिएको छ ।
गाउँपालिका कार्यालय अगाडी निर्माणधीन महादेव मन्दिर निर्माण पनि आर्यन कन्ट्रक्सनले गरेको छ । ५० लाख रुपैयाँमा निर्माण सम्पन्न गरी रंगरोगन गरिसक्नु पर्नेमा मन्दिरमा जग, पिलर र छत हालेर अलपत्र छाडिएको छ । ‘छत चार ईन्च हुनु पर्नेमा अढाई इन्च मात्र हालेका छन् । जबकी चार ईन्च हुनुपथ्र्यो । जग निर्माणमा पनि लापरबाही देखिन्छ’ प्राविधिक भन्छन् । यतिसम्मको अधुरो निर्माणको २४ लाख ७६ हजार १४६ रुपैयाँ आर्यन कन्ट्रक्सनलाई भुक्तानी दिएको पाइएको छ । जबकि उक्त कामको लागत १५ लाख पनि बढी रहेको ती प्राविधिकको भनाइ छ ।
एक कर्मचारीका अनुसार आ.व.२०७८।०७९ को बजेटको दर्जन योजना तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामजी जोसीले मोटो कमिसनको सेटिंगमाआर्यन कन्ट्रक्सनलाई गोप्य रुपमा टेन्डर र कोटेशन मार्फत दिइएका थिए । जसमा तत्कालिन पालिका प्रमुख डम्बर बहादुर राउत क्षेत्री र लेखा अधिकृत सुमन पुरीको समेत मिलेमतो थियो ।
एक कर्मचारीका अनुसार आर्यन कन्ट्रक्सनलाई दिइएको सबै योजनाहरुको कागजी काम बर्दिबासमै गरिएको थियो । गोप्य तरिकाले गरिरहेको कामको खुलासा नहोस् भनेर उनीहरुले हरसम्भव प्रयास गरेका थिए । पालिकाका दरबन्दीका ईन्जिनियर जितेन्द्र यादवलाई ती योजनाहरु हेर्न रोक लगाएर करारमा रौतहटका सिभिल इन्जिनियर शौरभ कुशवाहालाई राखेका थिए । पालिकामा कहिल्यै नदेखिए पनि उनलाई आठ महिनाको तलब उपलब्ध गराइएको घटना सार्वजनिक भएको थियो । के आधारमा तलब खुवाइयो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात माग गरेको थियो ।
काम अनुसारको भुक्तानी हेर्दा झण्डै दोब्बर भुक्तानी ती निर्माणाधीन भवनहरुको गरेको प्राविधिकहरुको दाबी छ । चरम लापरबाही तरिकाले निर्माण गरेका भवनका योजनाको राम्ररी छानबिन गर्दा संलग्नहरु फस्ने निश्चित जस्तै छ । त्यसकारण ती अधुरो योजनाको पूर्णता दिन गत आर्थिक वर्षमा बजेट भएपनि कर्मचारी हात हाल्न डराइरहेका छन् ।
आर्यन कन्ट्रक्सनले गरेका यी योजनाको कामहरु विषयमा आफूलाई केही थाहा नभएको ईन्जिनियर जितेन्द्र यादव बताउँछन् । ‘पालिका प्रमुख र प्रशासकीय अधिकृतले यी योजनाहरुमा हस्तक्षेप नर्गुस् भन्नु भयो । फाइल पनि हेर्न दिइएन ’ उनले भने ‘मेरो हेर्ने जिम्मा भएको भए यसरी लापरबाही हुने थिएन ।’
आर्यएन कन्ट्रक्सनसंग मोटो कमिसनमा सेटिंगको जालो प्रशासकीय अधिकृत जोसी रौतहटको ईशनाथ नगरपालिकामै बुनेका थिए । त्यहाँ पनि करारमा राखेका थिए ईन्जिनियर कुशवाहालाई। बटेश्वरमा आउँदा निर्माण कम्पनीसहित कुशवाहालाई संगै ल्याए ।
लापरबाही पूर्वक भवनहरु निर्माण् र त्यस बापतको भुक्तानीको तुल्ना गर्दा व्यापक अनियमितता भएको प्राविधिको दाबी छ । ‘काममा खेलाँची लापरबाही छ । निर्माण विधिको पालना गरेकै छैन’ अर्का प्राविधिक भन्छन् ‘राम्ररी सेट्रिङ गरेर नत पिलर ढालेका छन्, नत छत । छतमा कभरब्लक कम प्रयोग गरेकोले छड देखिन्छ । छत ढलानमा भाइब्रेटर राम्ररी चलाएको छैन जसको कारण ठाउँठाउँमा छत खुकुलो छ’
छतको छड देखिए तत्कालै पलास्टर गरि छोप्नु पर्ने प्राविधिकको भनाइ छ । नभए खिया लागेर भित्रसम्मकै छड कमजोर हुने र त्यसले छत जोखिमयुक्त हुने ती प्राविधिक बताउँछन् । वर्तमान प्रमुख प्रसाशकीय अधिकृत सन्तोष शर्माले अधुरो योजनाको काम अगाडि बढाउँन समस्या भएको बताउँछन् । ‘कसैले उजुरबाजुर गरे लफडामा पर्ने सम्भावना छ । त्यसैलै ती योजनालाई पूर्णता दिन असहज छ ।’ उनले भने ।
ती योजनाहरुको बाँकी भुक्तानी भने वर्तमान पालिका अध्यक्ष महतो निर्वाचित भएर आइसकेपछि उनकै सिफारिसमा भएको हो । तर उनलेभने श्रीजन प्रिय माविको भवन बाहेक अन्य योजनामा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्छन् । ‘म आएपछि श्रीजन प्रिय माविको भवन निर्माणको काम भयो । प्रशासनिक भवनको माथिल्लो तल्ला, महादेव मन्दिर, लक्ष्मी माविको भवन विषयमा मलाई केही थाहा छैन ।’ उनले भने ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोसी आफ्नो कार्यकालमा गरेकै अनाधिकृत गतिविधिको कारण २९ असारमा कर्मचारीबाट कार्यालयमै कुटिएका थिए । उनीमाथि साउन १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा प्रशासकीय हुँदा आ.व. २०७३।०७४ मा फर्निचर खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा जोशीमाथि ४ लाख ४७ हजार ५ सय बिगो मागदावीसहित विशेष अदालतमा आरोप पत्र दायर छ । त्यही दिन उनी स्वतः निलम्बनमा छन् ।
जोसी निलम्बित पश्चात फँस्ने डरले सबै सेटिंगका योजनाको फाइल लेखाअधिकृत पुरी हालसम्म लुकाउन खोजेको कर्मचारीहरु बताउँछन् । सूचनाको हक प्रयोग पश्चात प्रशासकीय अधिकृत शर्माको पटक पटक निर्देशनपछि बाध्य भएर पूर्ण बजे, हालसम्मको भुक्तानी र निर्माण कम्पनीको नाम उपलब्ध गराएका छन् । काम अनुसरकै भुक्तानी दिएको पुरीको दावी छ ।
तत्कालिन प्रमुख क्षेत्री पनि आठ लाख रुपैयाँ घुस काण्डमा अख्तियारको फन्दामा परिसकेका छन् । पालिकाको प्रशासनिक भवनको भूँइतल्लाको अन्तिम भुक्तानीका लागि निर्माणकम्पनीसित ८ लाख रुपैयाँ घुस लिँदै गर्दा १८ फागुन २०७७ मा उनी अख्तयारको फन्दामा परेका थिए । घुस रकम फालेर फरार भएका उनी पहुँचको अडमा चार महिना पश्चात हाजिर भएका थिए । त्यस बेला एमालेबाट जितेका उनीमाथि हालसम्म मुद्दा दर्ता भएको छैन । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०४-०७ , समय : ०९:४३:२० , २ वर्ष अगाडि