सप्तरीमा बीमाको रकम हात पार्न आफ्नै पतिको हत्या गरेको खुलासा

मिति: २०२३-०३-२९ , समय : २१:४६:२३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.–३ दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न आफ्नै पतिको हत्या गरेको खुलेको छ ।

ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे खुलाएको हो । स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयाे।

उनका अनुसार गत कात्तिक ६ गते समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिवशंकरको हत्या भएको थियो । पाँच महिनाको अनुसन्धानपछि शिव शंकरको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको प्रहरी नायव उपरीक्षक रायले बताउनुभयाे ।

‘यता नियन्त्रणमा लिइएका मृतक शिव शंकरकी श्रीमति कोशिलादेवी, भाई बुहारी हिरनदेवी र नातामा भाउजु पर्ने शान्तीदेवीले दिएको वयानअनुसार ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको देखिन्छ’ उनले भने, ‘शिव शंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।’

शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तीदेवीले नै शिवशंकरको हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी समेत रहने भन्दै योजना तयार पारेकी थिइन् । योजनाअनुसार शान्तीदेवीले कात्तिक ५ गते शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् ।

मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको वयान दिएकी प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए । करेन्ट लगाउने कार्यमा देउरानी हिरनदेवीले सहयोग गरेको थिइन् ।

हत्यापछि कोशिलादेवीले नै आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । सोही क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको थियो भने घटनाबारे थप अनुसन्धान भइरहेको पत्रकार सम्मेलनमा जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : २१:४६:२३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित