अवकाश उमेर बढाउने योजनाविरुद्ध फ्रान्सेली नागरिक आन्दोलनमा

मिति: २०२३-०३-२६ , समय : ०९:४२:१९ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

पेरिस ।
अवकाश (रिटायर्ड) हुने उमेर बढाउने सरकारी योजनाविरुद्ध फ्रान्सेली नागरिक हडतालमै उत्रिएका छन् । देशव्यापी हडतालका क्रममा बिहीबार १० लाखभन्दा धेरै मानिसले सडकमा उत्रिएर सरकारले अघि बढाएको पेन्सन प्रणाली सुधार योजनाको विरोध जनाए । हडताल र विरोध प्रदर्शनका क्रममा राजधानी पेरिसलगायत सहरमा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडपसमेत भए ।

गत जनवरीमा सरकारले सुधार प्रस्ताव अघि सार्दा पनि यही स्तरको हडताल र प्रदर्शन भएको थियो । त्यसयता विभिन्न समयमा साना स्तरका विरोध प्रदर्शन भइरहेकै छन् । प्रदर्शनकारीहरूबाट यो हप्ता विरोधका थप कार्यक्रम आउनेछन् ।

फ्रान्सले ल्याएको सेवानिवृत्तिको यो नयाँ उमेरहद अन्य विकसित मुलुकहरूको भन्दा कम नै छ तर पनि फ्रान्सेलीहरू नयाँ उमेरहदलाई लिएर आन्दोलित छन् । गत साता विनामतदान संसद्बाट अघि बढाइएको नयाँ कानुनअन्तर्गत सेवा निवृत्तिको उमेर ६२ वर्षबाट अब ६४ वर्ष हुनेछ । यो अन्य युरोपेली देश र अधिकांश विकसित अर्थतन्त्रको भन्दा अझै पनि कम हो । यी मुुलुकमा ६५ वर्षमा मात्रै पेन्सन पाक्छ भने सेवामा रहन पाउने अधिकतम उमेरहद ६७ वर्ष रहेको छ ।

अमेरिका र बेलायतमा अवकाशको उमेर उक्त व्यक्ति जन्मेको वर्षको आधारमा ६६ र ६७ वर्षको बीचमा पर्छ । बेलायतले यो उमेरहदमा पनि कानुनमा सुधार गरेर सन् २०४४ र २०४६ को बीचमा ६७ वर्षलाई बढाएर ६८ वर्षमा पुर्‍याउने भनिसकेको छ (समीक्षा हुँदा उमेरहद बढाउने मितिमा परिवर्तन हुन सक्छ) ।

फ्रान्सको सरकारी पेन्सन (निवृत्तिभरण) अन्यत्रको तुलनामा उदार पनि छ । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)का अनुसार सन् २०१८ मा फ्रान्सको सरकारी पेन्सन खर्च कुल गार्हस्थ उत्पादन (जिडिपी)को करिब १४ प्रतिशत थियो, जुन अधिकांश ठूला मुलुकहरूको भन्दा धेरै हो ।

फ्रान्सको सरकारले निवृत्तिभरण प्रणालीलाई आवश्यक पैसाको जोहो गर्न अवकाशको उमेर बढाइएको भनी सुधार योजनाको बचाउ गरेको छ । बृहत्तर सुधारअन्तर्गत अन्य सुधार पनि समावेश छन् । अहिले सेवारत कामदारको पारिश्रमिकबाट करमार्फत अवकाश भएकाहरूको पेन्सन भुक्तानी गरिन्छ । तर, मानिसहरूको आयु बढ्दै गएको र पेन्सन प्राप्त गर्नेहरूको संख्या पनि बढ्दै गएको अवस्थामा यो प्रणाली अन्ततः दिवालिया हुने र पेन्सन भुक्तानी गर्न नसकिने चिन्ता फ्रान्स सरकारको छ ।

पछिल्लो समय पेन्सन प्रणालीको वित्तपोषण अधिकांश विकसित मुलुकमा चिन्ताको विषय बनिरहेको छ । ‘सरकारी निकायले पेन्सन पाउने मानिसहरूको संख्या निरन्तर बढ्दै गएको हुँदा आउँदा वर्षमा पेन्सन कोषको बजेट घाटा बढ्दै जाने प्रक्षेपण गरेका छन् । यसमा सकेसम्म छिटो परिवर्तन आवश्यक छ । अन्यथा अन्यत्र लगानी गर्नुपर्ने पैसा पेन्सनमा खर्चिनु पर्नेछ,’ फ्रान्सले जनवरीमा अवकाशबारे सुधार प्रस्ताव गर्दा बेलायतस्थित ल्यानकास्टर विश्वविद्यालयका अर्थशास्त्रका सिनियर लेक्चरर रेनाउड फाउकार्टले टिप्पणी गरेका थिए । फाउकार्टका अनुसार पेन्सन सुधार फ्रान्समा ‘वर्जित’ जस्तै छ ।

राजा चार्ल्स तृतीयको भ्रमण स्थगित
अलोकप्रिय पेन्सन सुधारको विषयमा केही दिनयता जारी विरोध प्रदर्शन नरोकिएपछि बेलायतका राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिंघम प्यालेसले शुक्रबार जनाएको छ । हाल भ्रमण रद्द भए पनि राजा चार्ल्स तृतीय र महारानी क्यामिला ‘फ्रान्स भ्रमणका लागि आतुर रहेको’ शाही अधिकारीले बताएका छन् । यसअघि बिहीबार बेलायतका राजा चार्ल्स तृतीयको फ्रान्सको राजकीय भ्रमणलाई रद्द गर्ने कुनै योजना नरहेको बेलायत सरकारले जनाएको थियो । त्यस्तै, फ्रान्सका कूटनीतिक अधिकारीले देशका राष्ट्रसित म्याक्राँको विरोधमा उग्र प्रदर्शन र दंगा चलिहरेको समयमा महत्वपूर्ण राजकीय भ्रमण पछि सार्नुुपर्ने सुझाव दिएका थिए । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०३-२६ , समय : ०९:४२:१९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित