रजनीकान्तकी छोरी ऐश्वर्याको घरबाट चोरी भयो ६० तोला गहना
मिति: २०२३-०३-२१ , समय : २०:३६:२० , गामघर डेस्क
मिति: २०२३-०३-२१ , समय : २०:३६:२० , गामघर डेस्क
गामघर डेस्क
काठमाडाैं । भारतीय अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको घरमा चोरी भएको छ।
उनको चेन्नईस्थित घरको लकरबाट ६० तोला गहना चोरी भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उक्त गहनाको मूल्य ३ करोड ६० लाख भारू बताइएको छ।
उनले चेन्नईको टेनामपेट पुलिस थानामा उजुरी दिएकी छन्। पुलिसका अनुसार उनले सन् २०१९ मा आफ्नो बहिनी सौन्दर्या रजनीकान्तको विवाहमा उक्त गहना लगाएकी थिइन्। त्यसपछि उनले आफ्नो गहना लकरमा राखेकी थिइन्।
ऐश्वर्याका अनुसार सन् २०१९ पछि लकर तीन ठाउँमा सारिएको थियो। सन् २०२१ अगस्टमा घरको अन्य सामानसहित उनको पूर्वपति धनुषको फ्ल्याटमा लकर सारिएको थियो।
सेप्टेम्बरमा चेन्नईको अपार्टमेन्टमा सारिएको थियो भने २०२२ मा ऐश्वर्याको पोज गार्डनस्थित घरमा सारिएको थियो।
उनले १० फेब्रुअरीमा लकर खोलेर हेर्दा गहना नभएको बताएकी छन्। उक्त गहना १८ वर्ष पुरानो थियो जसमा हिराको सेट, पुरानो सुनको गहना, नवरत्न सेट र चुरा छन्।
ऐश्वर्याले आफ्नो उजुरीमा घरको कामदार ईश्वरी, लक्ष्मी र ड्राइभर वेन्कटमाथि शंका भएको उल्लेख गरेकी छन्।
ऐश्वर्या फिल्म ‘लाल सलाम’ निर्देशनको तयारीमा छिन्। फिल्ममा उनका बुबा रजनीकान्तको केमियो भूमिका रहनेछ। एजेन्सी
प्रकाशित मिति: २०२३-०३-२१ , समय : २०:३६:२० , २ वर्ष अगाडि