मधेस प्रदेश : स्रोत नखुलेको १० लाख सहित भारतीय पक्राउ
मिति: २०२५-०४-२२ , समय : १३:२५:०९ , गामघर डेस्क
मिति: २०२५-०४-२२ , समय : १३:२५:०९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले आइतबार राति स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । मौलापुर–६ पथराबुधरामस्थित सार्वजनिक सडकमा जाँचका क्रममा १० लाख नेपाली रुपैयाँसहित भारतको मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पञ्चायत खरहा चैनपुर–८ ग्राम मुसहरीयाका २३ वर्षीय राजकिशोर ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । भारतबाट बीआर०५ एसी ९४७७ नम्बरको मोटरसाइकलमा पैसा राखेर नेपाल आउँदै गर्दा मौलापुरको डिकमा जाँचका क्रममा ठाकुर प्रहरीको फन्दामा परेका हुन् ।
मोटरसाइकलको सिटमुनि झोलाभित्र लुकाइ राखेको अवस्थामा एक हजारको ६०० थान, पाँच सयको ८०० थान नेपाली रुपैयाँ फेला परेकोले डीएसपी रायले बताए । ‘हामीले रकमसहित भारतीय नागरिक ठाकुरलाई पैसाको स्रोत खोल्न कागजपत्र मागेका थियौं’, उनले भने, ‘कुनै कागजपत्र देखाउन र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेका हौँ ।’प्रहरीले ठाकुरको साथबाट मोबाइल र परिचय खुल्ने कागजसमेत बरामद गरेको छ । सीमा क्षेत्रमा केही समययता स्रोत नखुलेको र नक्कली नोटको ओसारपसार बढेको छ । उनीहरु पैदल, साइकल वा मोटरसाइकल चढेर रकम ओसारपसार गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२५-०४-२२ , समय : १३:२५:०९ , 5 hours अगाडि