सिरहामा चट्याङले लिए एक कृषकको ज्यान : खेतमै घट्यो दुखद घटना

मिति: २०२५-०४-१८ , समय : १०:१९:३४ , विनोद मण्डल

तस्बिर : सामाजिक सन्जालबाट

विनोद मण्डल

सिरहा । मधेस प्रदेशको सिरहाकाे कल्याणपुर नगरपालिका–६, भक्राहामा बिहीवार साँझ एक दर्दनाक घटना घटेको छ । खेतमा काम गर्दै गरेका एक कृषकको चट्याङ लागेर मृत्यु भएको छ ।

मृतकको पहिचान कल्याणपुर नगरपालिका–८, मझौलिया वडा कार्यालयमा कार्यरत करिब ४५ वर्षीय बेचन रोहीता भएको सिरहा प्रहरीले पुष्टि गरेको छ । प्रारम्भिक जानकारीअनुसार उनी गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ (ठन्का) परेपछि घटनास्थलमै उनको मृत्यु भएको थियो ।

दुर्घटना हुनासाथ स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । तत्पश्चात स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो । प्रारम्भिक अनुसन्धान पश्चात मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

यस दुखद घटनाले स्थानीयवासी तथा कृषक समुदायलाई स्तब्ध बनाएको छ । मृतक रोहीता आफ्नो परिवारको आर्थिक आधार मानिन्थे भने उनी अत्यन्तै मेहनती र मिलनसार स्वभावका व्यक्ति रहेको स्थानीयले बताएका छन् ।

मौसममा अचानक आएको खराबीका कारण चट्याङ लाग्ने घटना बढ्दै गइरहेका बेला, किसानहरूलाई सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

यस्ता अप्रत्याशित घटनाबाट ज्यान जोगाउन आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन् भने स्थानीय तह र सरकारले किसानहरूको सुरक्षाका लागि पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ ।

प्रकाशित मिति: २०२५-०४-१८ , समय : १०:१९:३४ , 1 day अगाडि