सीमामा सशस्त्र प्रहरीका ४८ गुल्म स्थापना गर्ने सरकारकाे लक्ष्य
मिति: २०२३-०३-२० , समय : ०९:०१:४४ , गामघर डेस्क
मिति: २०२३-०३-२० , समय : ०९:०१:४४ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौ ।
सीमा क्षेत्रको सुरक्षालाई सुदृढीकरणका लागि सशस्त्र प्रहरी बलले बोर्डर आउटर पोस्ट (बिओपी)लाई स्तरोन्नति थालेको छ । इन्स्पेक्टर प्रमुख रहँदै आएका ४८ वटा बिओपीलाई सीमा सुरक्षा गुल्ममा स्तरोन्नति प्रक्रिया अघि बढाइएको छ । प्रस्तावित गुल्ममा गत सातादेखि सशस्त्र प्रहरीले डिएसपीलाई खटाएको छ ।
सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण सीमाबिन्दुमा डिएसपीलाई खटाउन थालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी पुरुषोत्तम थापाले जानकारी दिए । सीमामा डिएसपीको कमान्डमा खटाउँदा सुरक्षा अझ मजबुत हुने निष्कर्षका आधारमा स्तरोन्नति थालिएको उनको भनाइ छ ।
अनुभवी डिएसपीलाई सीमामा खटाउँदा सुरक्षामा सुधार हुनुका साथै चेन अफ कमान्ड पनि बलियो हुने सशस्त्र प्रहरीको विश्लेषण छ । यसअघि बिओपीका प्रमुखका रूपमा खटिएका इन्स्पेक्टर र सइले सीधै एसपीलाई रिपोर्टिङ गर्नुपर्ने अवस्था थियो । अब सीमा सुरक्षा गुल्मको मातहत पाँचवटासम्म बिओपी रहनेछन् । यसले डिएसपी पनि थप जिम्मेवार हुने र संगठनमा इन्स्पेक्टर, डिएसपी हुँदै एसपीलाई रिपोर्टिङ चेन अफ कमान्ड प्रणाली पनि बलियो हुने सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । भारतले पनि नेपालसँगको सीमामा यस्तै सेक्टर कमान्डको अवधारणा लागू गरेको छ ।
बिओपीलाई गुल्ममा स्तरोन्नतिका लागि भने गृह मन्त्रालयले सहमति दिइसकेको छ । भारतसँगको सीमामा दुई सय २० तथा चीनसँगको सीमा आठ गरेर सशस्त्र प्रहरीका दुई सय २८ बिओपी तथा बेस छन् । पाँच सय बिओपी बनाउने लक्ष्य सरकारले सार्वजनिक गरे पनि दरबन्दी थप नहुँदा बिओपी विस्तार रोकिएको छ । जनशक्ति र स्रोतसाधन अभावले सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा योजनाअनुसार काम हुन सकेको छैन ।
बिओपीमा खटिने अधिकृत ६ महिनामा बदली हुने
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, बिओपी तथा बेसमा कार्यालय प्रमुखका रूपमा खटिने अधिकृतको ६–६ महिनामा बदली हुने भएको छ । सशस्त्र प्रहरी कर्मचारीको पदस्थापन, सरुवा तथा काजसम्बन्धी कार्यविधि, २०७९ तथा सुरक्षा बेस अदलीबदली निर्देशिका बनाई यसमा संशोधन गरिएको हो । यसअघि पहुँचवाला लामो समय बस्ने र पहुँच नभएकाहरू छिटो सरुवा हुन्थे । सबैलाई समान र न्यायोचित अवसर दिन नयाँ कार्यविधि र निर्देशिका बनाएर लागू गरिएको छ ।
गत साता डिएसपी र इन्स्पेक्टरलाई सरुवा गर्दा कमान्ड पूर्वानुमान सूचीको पूर्ण रूपमा पालना गरिएको डिआइजी थापाले बताए । जसअनुसार हालसम्म कमान्डको अवसर प्राप्त नगरेका अधिकृतलाई पहिलो प्राथमिकता, कम अवसर प्राप्त गर्नेलाई दोस्रो र प्राथमिकतामा राखी ज्येष्ठता सूचीअनुसार कमान्डमा सरुवा गरिएको छ । सशस्त्र प्रहरीले यो वर्षदेखि कमान्डमा जानेहरूको सूची पहिले नै बनाएर प्राथमिकताका आधारमा पठाउने गरेको छ । यसले सरुवामा हुने चलखेल धेरै हदसम्म रोकिएको र सबैले बराबर अवसर पाउने स्थिति बनेको सशस्त्र प्रहरी अधिकारीहरूको भनाइ छ । नया पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०३-२० , समय : ०९:०१:४४ , २ वर्ष अगाडि