बाटाे निर्माण अधुरै : ठेकेदारको लापरबाहीले हजारौंको सर्वसाधारणहरु समस्यामा

सप्तरीका १४ वटा योजनामा पटक–पटक म्याद थप भए पनि काम नसकिएपछि निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

मिति: २०२३-०३-१८ , समय : १५:१७:२२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराजस्थित मुख्य सडक हो, सिरहा रोड । नेताचोकदेखि पश्चिमतर्फको उक्त सडकलाई राममन्दिरसम्म पक्की बनाउन काम थालेको तीन वर्ष पुग्यो । सुरुवातको सम्झौताअनुसार २०७७ पुसमै सडक बनिसक्नुपर्ने हो । तर, तोकिएको समय ग्रुजेर तीन पटक म्याद थप्दा पनि निर्माण सकिएको छैन ।

सप्तरीमा निर्माणाधीन आयोजनाको अवस्था बुझाउने एउटा उदाहरण हो, यो । यो सडकको कामको जिम्मा निर्माण कम्पनी कान्छाराम/डाँफे जेभीले लिएको छ । उक्त सडक मात्र नभई यिनै निर्माण कम्पनीले जिम्मा लिएका सप्तरीका अन्य १४ वटा योजनामध्ये एकाधबाहेक सबैको अवस्था उस्तै छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजसँग दुईवटा प्याकेजमा सम्झौता गरी जिम्मा लिएका ती आयोजना तोकिएको मितिमा नसकिएपछि पटकपटक म्याद थप भएको छ । तर, म्याद थप गर्दा पनि निर्माण कम्पनीले काम नसकेपछि भने कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेको छ ।

कान्छाराम–डाँफे जेभीले ९ वटा र डाँफे–कान्छाराम–देव एन्ड सायर जेभीले ५ वटा आयोजनाका लागि ठेक्का पाएका हुन् । ती आयोजनाको कुल लागत ७४ करोड ४८ लाख रुपैयाँ छ । मुख्य सहरी पूर्वाधार योजनाअन्तर्गत राजविराजको साबिक वडा नम्बर ९ बसपार्क र वडा नम्बर ५ प्रवेश मार्ग, पडरिया उत्तर जाने सडक र नाला, साविक वडा नम्बर २ लोरिक चोकदेखि उतर कञ्चनपुर सडकसम्म र पूर्व डुमरी शिवथानसम्मको सडक र नाता, नेताचोकदेखि पूर्व साइकृष्ण अस्पताल हुँदै रामदेव यादवको घरसम्म र राजदेवी मन्दिरको उत्तरतर्फ पूर्व जाने बाटोमा अहमद टोल हुँदै पम्प कनाल नहरसम्म सडक र नाला निर्माण गरी ५ वटा योजनाको सम्झौता २०७४ पुस १६ मा भएको थियो ।

डाँफे–कान्छाराम–देब एन्ड सायर जेभीले २९ करोड रुपैयाँमा ठेक्का पाएका थिए । २०७७ साउन २० मा काम सक्ने सम्झौता भएको थियो । उक्त अवधिमा काम नसकिएपछि तेस्रो पटकसम्म म्याद थप भएको छ । पछिल्लो म्याद यही चैत ३० सम्म छ, तर काम सकिने छाँटकाँट छैन ।

यस्तै, राजविराजकै गीता पम्पदेखि अध्यारी पम्पसम्म, उपयोगी पुस्तक पसलदेखि राजदेबी मन्दिरसम्म, मलेठ नहरदेखि पम्प हाउस हुँदै झल्ही नहरसम्म, डा. मुरली सिंहको घर नजिकको सडक, बोरियादेखि खर्साल टोलसम्म, खर्साल टोल राजबाबुको घर हुँदै कर्ल्भट सडक, एनटीसी १ सडक, एनटीसी २ सडक, मदननगरभन्दा उतर र झल्ही टोलको सडक गरी ९ वटा योजना निर्माणको जिम्मा कान्छाराम/डाँफे जेभीले पाएका थिए ।

२०७४ पुस २८ मा ३५ करोड ४८ लाख रुपैयाँमा सम्झौता भएको थियो । २०७७ पुस २७ सम्म काम सक्ने म्याद तोकिएको थियो । तर, तेस्रो पटक म्याद थप्दा पनि ती योजना पूरा भएका छैनन् । पछिल्लो म्याद यही चैत ३० मा सकिँदै छ ।

निर्माण कम्पनीलाई काम छिटो सक्न ताकेता गर्दै पटकपटक पत्राचार गरे पनि अटेर गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ । गत फागुन २९ मा निर्माण कम्पनीलाई पत्राचार गरी कालोसूचीमा राखी कारबाही अघि बढाउने चेतावनी दिएको आयोजना प्रमुख सचिन्द्रकुमार देवले जानकारी दिए । उनका अनुसार ७ दिनभित्र कामलाई तीव्रता दिन म्याद दिइएको छ । त्यसो नभएमा आयोजनाको नाममा जारी गरेको कार्य सम्पादन तथा अग्रिम जमानत झिकाउने पत्रमा उल्लेख छ ।

आयोजना प्रमुख देवले अब पनि निर्माण कम्पनीले अटेर गरे सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम सम्झौता तोडी कालोसूचीमा राख्ने बताए । निर्माण कम्पनीका इन्जिनियर सुभास चौधरीले विविध कारणले निर्माणमा ढिलाइ भएको स्विकार्दै कामलाई तीव्रता दिने दाबी गरे । साभार: अबधेश कुमार झाले कान्तिपुरमा लेखेको समाचार हाे ।

प्रकाशित मिति: २०२३-०३-१८ , समय : १५:१७:२२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित