खानेपानी मन्त्रीका पीएको हालीमुहाली : सरुवा-बढुवादेखि ठेक्कापट्टामा जोशी नै हावी

मिति: २०२५-०१-२६ , समय : ०८:५४:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । खानेपानी मन्त्रीका निजी सचिव भक्तराज जोशीको फूर्तिफार्ती हेर्दा उनी सचिवभन्दा शक्तिशाली जस्तै देखिन्छन् । सुदूरपश्चिमका जोशीले प्रदीप यादव स्वास्थ्य मन्त्री हुँदा नै निजी सचिवालय सम्हालेका थिए । स्वास्थ्यमा मन्त्रीका निजी सचिवका अलावा योजना शाखाको प्रमुख समेत दोहोरो जिम्मेवारी सम्हालेका जोशी यादव स्वास्थ्यबाट खानेपानी मन्त्रीमा सरुवा भएपछि उनीसँगै त्यता लागेका थिए ।
खानेपानी मन्त्रालयमा गएपछि सचिवालयका हर्ताकर्ता नै बन्न पुगेका जोशी यादवका विश्वासपात्र कर्मचारी हुन् । कर्मचारीको खटनपटनदेखि ठेक्कापट्टा, आयोजना प्रमुख र कार्यालय प्रमुखदेखि महानिर्देशकसँग समेत उनैले मन्त्रीको तर्फबाट डिल गर्ने गरेका छन् । खानेपानीमा भ्रमण भत्ता(टीओ आतंक) देखि लिएर कर्मचारी सरुवामा पनि ठूलो मोलमोलाइ हुने गरेको छ ।
खानेपानी मन्त्रालयका सचिव प्रमिला बज्राचार्य सरुवा भएर आएपछि मन्त्री यादवसँग कसैले पनि दोहोरो कुरा गर्ने आँट गर्दैनन् । बज्राचार्य पटक–पटक सरुवा हुँदै दोस्रो पटक खानेपानी मन्त्रालयमा आएकी हुन् । आयोग र विज्ञान प्रविधि मन्त्रालयमा लामो समय थन्किएको पीडा भोगेकी सचिव बज्राचार्यले खानेपानीमा मन्त्रीसँग पौंठेजोरी हिम्मत गर्ननसक्दा मन्त्री यादवका निजी सचिव जोशीको हालीमुहाली चलेको छ ।
जोशी विगतमा खानेपानी बिभागमा देवराज भट्ट महानिर्देशक हुँदा उनका निजी सचिव थिए । पीए भएर लाभ लिन पल्केका जोशी कांग्रेसको कार्यकर्ताका रुपमा चिनाउँदै आए पनि कानुनी रुपमा पार्टीबिहीन(जसपा नेपाल) का प्रदीप यादवको पीए भएर फाइदा लिन तल्लीन छन् ।
पार्टी बिभाजन गरी उपेन्द्र यादवबाट अलगिएका प्रदीप अहिले सरकारी खर्चमा देशब्यापी खानेपानीको कार्यक्रम देखाएर संगठन बिस्तारमा ब्यस्त छन् । मन्त्रालयमातहतको नाममात्रको कार्यक्रम राख्ने र बाँकी जसपा नेपालको संगठन बिस्तारमै यादवको ध्यान केन्द्रित हुने गरेको छ । मन्त्रालय र मातहतका निकायको लाखौं रकम सकाएर पार्टी बिस्तारमा मन्त्री केन्द्रित हुँदा मन्त्रालयका काम छायाँमा परेका छन् ।
पार्टी संगठन बिस्तारमा राज्यको बजेट दुरुपयोग हुँदा निजी सचिव जोशीले त्यसलाई शीर्षक मिलाएर खर्च देखाउन मातहतका कार्यालय वा आयोजनालाई भुक्तानी गर्न लगाउँदैआएका छन् । हुम्लाको सामान्य खानेपानीको आयोजनाको उदघाटन लाखौं बजेट हवाईभाडादेखि मन्त्रीको टोलीको ब्यवस्थापनमा खर्च हुने गरेको छ । आयोजना निर्माण हुँदा लागत खर्च भन्दा बढी मन्त्रीको लावालस्करलाई ब्यवस्थापन गर्नमै बढी खर्च हुने गरेको छ ।
मन्त्री यादवलाई अहिले सरकारी बजेटमा देशाटन गर्ने सुनौलो अवसर प्राप्त भएको छ । संघीय खानेपानी आयोजनाका कार्यक्षेत्रमा नपर्ने ठाउँमा गएर पनि मन्त्रीले खानेपानीको अभाव हुन नदिने आश्वासन दिदै हिंड्नुले जनतालाई भ्रमित पारेको छ ।मन्त्री यादवले सल्लाहकारका रुपमा राखेका अवधेशकुमार दास पछिल्लो समय मन्त्रालयमा कम देखिने, होटल र क्याफेमा ठेकेदार र खानेपानी सम्बद्ध आयोजना प्रमुखहरुलाई भेट्न तल्लीन छन् । नेपाल फेसबाट

प्रकाशित मिति: २०२५-०१-२६ , समय : ०८:५४:४८ , २ दिन अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित