मधेस प्रदेश : ४० वर्षअघिको हत्या घटनाका आरोपी पक्राउ , नाम,थर र धर्म समेत परिवर्तन

मिति: २०२५-०१-१३ , समय : ०८:३५:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
हत्या घटनामा संलग्न भएर अदालतबाट जन्मकैद सजाय तोकिएका एक फरार अभियुक्त ४० वर्षपछि फरक परिचयमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधेस प्रदेशको रौतहटको राजदेवी नगरपालिका वडा नं. –९ का रत्नेश्वर प्रसाद सिंहका छोरा ५६ वर्षीय राजु सिंहस छन् । तर उनको हालको घर र परिचय फेरिएको छ ।

उनी हाल सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ का ५६ वर्षीय मो. सराज राइन छन् । उनको विगतको धर्म, नाम र पहिचान भने परिवर्तन गरिसकेका हुन् । यसको कारण हो, ४० वर्षअघि भएको एउटा हत्या घटना ।

प्रहरीका अनुसार जग्गा सम्बन्धि विवादमा १६ चैत २०४१ मा रौतहटको साविक ब्रह्मपुरी गाविस १ एवं हालको राजदेवी नगरपालिका ९ का स्थानीय लेखापढी व्यवसायी ललन सिंहको हत्या भएको थियो । हत्या घटनामा ब्रहमपुरी गाँउ विकास समिति वडा नं. ३ हाल राजदेवी नगरपालिका वडा नं. –९ का रत्नेश्वर प्रसाद सिंह र उनका छोरा राजु सिंहसमेत गरी चारजना संलग्न भएको आरोप छ ।
मृतक ललन सिंहकी पत्नी धुपकली देवीको जाहेरीले वादी नेपाल सरकार रहेको कर्तव्यज्यान मुद्दामा रत्नेश्वर प्रसाद सिंह र उनका छोरा राजु, नागेश्वर महरासहित चारजनालाई प्रतिवादी बनाइ जिल्ला अदालत रौतहटमा अभियोजन गरियो । रौतहत जिल्ला अदालतले २६ फागुन २०५७ मा राजु सिंहलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसमै उनका बुबासहित अन्य प्रतिवादीलाई पनि जेल सजाय फैसला सुनाएको थियो ।

मृतक ललनका छोरा विजय सिंहका अनुसार घटना पश्चात संलग्न चारजनै आरोपी फरार भएका थिए । घटनाको केही समय पश्चात सीमा पारी भारतबाट रत्नेश्वरलाई पक्राउ गरी ल्याएर कारागार चलान गरिएको थियो । केहीवर्षको जेल सजाय भोगेर उनी रिहा भए । छोरा राजुसहित तीनजना फरार नै रहे । रत्नेश्वर अहिले पनि जिवीतै छन् ।
प्रहरी स्रोतका अनुसार घटना पश्चात फरार रहेकाले राजु आफ्नो परिचय फेरे । धर्मसँगै नाम पनि परिवर्तन गरे । उनले हिन्दु धर्म परिवर्तन गरी मुसलीम धर्म अपनाए र राजु सिंह नामलाई मोहम्द सराज राइनमा परिवर्तन गरे ।

भारतमा बसेर बसको खलासीको काम गर्दै आएका थिए । पछि सर्लाहीको चक्रघट्टा गाँगपालिका ४ सुन्दरपुर फर्के । त्यहाँ घर बनाए । राजुले सुन्दरपुरमै धर्म र नाम परिवर्तन गरे । ‘घटनाको केहीवर्षसम्म फरार भएर म भारतको विहारमै बसमा खलासीको काम गरे । करिब ३० वर्ष भयो । म सुन्दरपुर फर्के । त्यहाँ मैले धर्म परिवर्तन गरी मुस्लिम बने । विवाह गरे । नागरिकता बनाएँ’ प्रहीलाई बयानको क्रमममा उनले भनेका छन् ।

झुटो विवरण पेश गरी नागरिकता पनि उनले बनाएका छन् । जसमा फर्जी रुपमा बुबाको नाम मो.खलिफ राखेर उनले मो. सराज राइनको नामबाट नागरिकता लिएका छन् । ‘मेरो सुरुको नाम राजु सिंह हो । बुबा रत्नेश्वर हुनुहुन्छ । यहाँ नागरिकता लिँदा बुबाको नाम मो. खलिफ राखेको छु । त्यस नामको व्यक्ति कोही हुनुहुन्न । यतिकै नाम राखे’ उनले प्रहरीलाई बयान दिएका छन् ।
उनले त्यही पालैपालो दुईवटा विहे समेत गरेका छन् । राजुका अनुसार पहिलो बिहे सबिला नामका महिलासँग गरे । उनले छाडेर हिडेपछि अर्को सबिना नाम गरेकी महिलासँग गरे । ‘पहिलोपटक विहे हुँदा सविलासँग गरेको थिएँ । उनले छाडेर गएपछि दोस्रो पटक सविनासँग गरेको छु’ उनले बयामा भनेका छन् ।

उनले हत्या घटनाको बेला आफू बालक भएको र त्यसमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । ‘म बालक नै थिएँ । त्यो घटनामा मेरो संलग्नता छैन । त्यस घटनामा बुबाको संलग्नता थियो । उहाँ जेल सजाय काटिसक्नु भएको छ’ बयानमा उनले खुलाए ।

फरार अभियुक्त विगतका राजु अहिले सराज भएको रहस्य ४० वर्षपछि पक्राउ परेपछि खुलेको हो । उनलाई प्रहरीले गत शुक्रबार सर्लाही चक्रघट्टा गाँगपालिका ४ सुन्दरपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय जकपुरले खटाएको सिरहाका प्रहप्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवान समेतको टोलीले पक्राउ गरेको छ । राजुलाई थप अनुसन्धान तथा कारबाहीको लागि रौतहट प्रहरी मार्फत जिल्ला अदालत रौतहटमा पेश गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०१-१३ , समय : ०८:३५:५२ , ६ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित