अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

मिति: २०२५-०१-०९ , समय : १६:४३:२७ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । मुद्दा मिलाइदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा त्यही पदमा कार्यरत ध्रुवप्रसाद सापकोटाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग जोडिएको एउटा मुद्दामा अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए । अनुसन्धान अधिकृतले आफैंले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्काे खामभित्र एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रुपैयाँ रकम रहेको अख्तियारले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटा अख्तियारको कञ्चनपुर कार्यालयबाट पक्राउ परेका थिए ।

अख्तियारले प्रमुख प्रशासकीय अधिृकत सापकोटासँग घुस रकम बराबरको बिगो माग गरी मुद्दा दायर गरेको जनाएको छ । उज्यालो

प्रकाशित मिति: २०२५-०१-०९ , समय : १६:४३:२७ , १८ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित