सप्तरीमा साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने बोलेरो चालक पक्राउ
मिति: २०२५-०१-०९ , समय : १६:३४:२१ , गामघर डेस्क
मिति: २०२५-०१-०९ , समय : १६:३४:२१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एकजना बोलेरो चालकलाई पक्राउ गरेको छ ।मधेस प्रदेशको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने २६ वर्षीय समसुद्दीन आलमलाई ठगी, आपराधिक विश्वासघात, र झुटो सूचना दिएर अफवाह फैलाएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पुस २२ गते साँझ ७ बजे आलम र सहचालक बाराको कलैया उपमहानगरपालिका ७ का २४ वर्षीय अमिर श्रेष्ठसहित बोइलर कुखुरा ल्याउन वीरगन्जबाट राजविराज आउँदै थिए ।
सोही क्रममा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित राजविराज–रुपनी सडक खण्ड अन्तर्गतको रायपुरमा दुईवटा मोटरसाइकलमा आएका चार हतियारधारीले गाडी रोकेर गाडीको साँचो सहित ३ लाख ८० हजार लुटेर लगेको घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । सप्तरी प्रहरी घटनास्थलमा पुगेर जाँच गर्दा गाडीको साँचो त्यही फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा बोल्न र सुन्न नसक्ने बोलेरोका सहचालक श्रेष्ठले इसारामार्फत आलमले पैसा आफ्नो घरमा लुकाएको संकेत गरेपछि प्रहरी वीरगन्जस्थित आलमको घरबाट ३ लाख ८० हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनले आलमले साहुबाट कुखुरा खरिदका लागि दिएको रकमका लागि लुटपाटको नाटक गरेको स्वीकार गरेको बताए । पक्राउ परेका आलममाथि ठगी, आपराधिक विश्वासघात, र झुठा सूचना फैलाएको अभियोगमा अनुसन्धान थालिएको छ । यता प्रहरी उपरीक्षक खतिवडाका अनुसार आलमलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।
प्रकाशित मिति: २०२५-०१-०९ , समय : १६:३४:२१ , १८ घन्टा अगाडि