मधेश प्रदेशमा बढ्यो हत्याकाे घटना : ६ महिनामा ३६ जनाको हत्या
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार साउनयता मधेश प्रदेशमा ३६ जनाको हत्या भएको छ । जसमा २४ जना पुरुष, १० जना महिला र दुईजना बालबालिका छन् ।
मिति: २०२४-१२-२४ , समय : ०७:४७:०९ ,
गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । शनिबार एकाबिहानै एकपछि अर्को व्यक्ति हत्याको घटनाले मधेश प्रदेशभरि सनसनी फैलियो । महोत्तरीमा शनिबार पूर्व वडासचिव सुशील झाको डाँका समूहबाट हत्या भएको घटना सेलाउन नपाउँदै बारामा सिमरा विमानस्थलका सुरक्षा गार्ड राजकुमार रुम्बाको हत्या गरिएको अवस्थामा कारभित्र शव फेला पर्यो ।
महोत्तरीको मनवरासिसवा नगरपालिका-४ साढाका ७० वर्षीय झाको डाँका समूहले लुटपाट गर्ने क्रममा हत्या भएको थियो । महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार मुक्का प्रहार गरी झाको हत्या भएको देखिएको छ ।
शनिबार बिहान ४ बजेको समयमा ७/८ जनाको संख्यामा पुगेका लुटेरा समूहले घरमा लुटपाट गर्दै पूर्ववडासचिव झाको हत्या गरेको प्रहरीले जनाएको छ । झाको हत्यापछि डाँका समूहले घरमा रहेको सुनको गरगहना र नगद ८० हजार रुपैयाँ समेत लुटेर लगेको थियो । अहिलेसम्म घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
यो घटना बाहिरिएकै केही समय पश्चात बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ मा बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत फेला परे ।
उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले पुष्टि गरेको छ । तिवारीसँग गाडी मागेर बाहिर निस्केका उनी शनिबार बिहान मृत फेला परेका थिए । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक चीरञ्जीवी दहालका अनुसार मृतक रुम्बाको टाउकोमा केही वस्तुले प्रहार गरिएको चोट देखिएको छ । उनको हत्या नै भएको प्रहरीको अनुमान छ ।
रुम्बाको शव पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने र घटना विषयमा थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
जनकपुरको दुर्गा मन्दिर परिसर, जहाँ हत्या गरिएको अवस्थामा वृद्धको फेला परेको थियो ।
झा र रुम्बाको हत्या भएको अघिल्ला दिन शुक्रबार बिहानै जनकपुरधामको मुरलीचोकस्थित दुर्गा मन्दिरमा एक वृद्धको हत्या भएको अवस्थामा शव फेला परेको थियो । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा ६१ वर्षीय अरुणकुमार झाको ईंटा प्रहार गरी हत्या भएको थियो ।
धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार घटनास्थलमा रक्सीको बोतल, चुरोटका ठुटा, चप्पल, रगत लागेको ईंटा फेला परेको थियो । सामान्य वादविवाद पछि ती वृद्धको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
वृद्ध हत्याको अघिल्लो दिन बिहीबार अपराहन्न मात्र धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्दाहाको पर्शुराम तलाउस्थित बोराभित्र एक युवकको शव फेला परेको थियो ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सडेगलेको अवस्थामा ३० वर्षीय युवकको शव फेला परेको थियो । युवकको घाँटीमा डाम देखिएकाले हत्या गरेर बोरामा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ । मृतकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।
गत आइतबार मात्रै सर्लाहीमा ढुंगा प्रहार गरेर घाइते एक महिलाको मृत्यु भयो । लालबन्दी नगरपालिका–१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले सर्लाहीकै ईश्वरपुर नगरपालिका–१२ घारीबथान बस्ने ४८ वर्षीय वीरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरबहादुरले २८ मंसिर राति ढुंगा प्रहार गर्दा विष्णुमाया गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज आइतबार लालबन्दीस्थित म्याक्स अस्पतालमा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
पछिल्लो घटनाक्रमलाई हेर्दा मधेशमा शृङ्खलाबद्ध जघन्य हत्याको घटना भइरहेको छ ।
धनुषामा मात्रै एक महिनामा चार जनाको हत्या भएको छ । व्यक्ति हत्याका घटना बढिरहँदा मधेशका सर्वसाधारण त्रसित बनेका छन् ।
महोत्तरीको एकडारा गाउँपालिका-२ का घनश्याम झा चोरीडकैतीको क्रममा व्यक्ति हत्या हुँदा स्थानीय त्रसित रहेको बताउँछन् । ‘डकैतीसँगै हत्या पनि गर्छन् । स-साना विवादमा पनि हत्या गर्ने प्रवृत्तिले समाज असुरक्षित बनेको छ’ उनले भने’ ‘कति बेला कसको कहाँ हत्या हुन्छ थाहा छैन ।’ अपराध न्यूनीकरण गर्न र जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन गाउँगाउँमा पनि प्रहरीले गस्ती बढाउनुपर्ने उनको सुझाव छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पछिल्लो ६ महिनामा मधेश प्रदेशमा ३६ जनाको हत्या भएको छ । जसमा २४ जना पुरुष, १० जना महिला र दुईजना बालबालिका छन् ।
प्रहरी तथ्यांक अनुसार यो अवधिमा सर्लाहीमा ६ जना, बारा र महोत्तरीमा ६/६ जना, धनुषा र सिरहामा ५/५ जना, रौतहटमा ४ जना, सप्तरीमा ३ र पर्सामा १ जना छन् ।
हत्या हुनेमा सर्लाहीमा ४ पुरुष र २ महिला छन् । यस्तै सिरहामा ५ जना पुरुष छन् भने महोत्तरीमा ३ महिला, एक बालिका र २ पुरुष छन् । बारामा पुरुष ३ र महिला २ जना र एक बालक रहेको तथ्यांकमा उल्लेख छ ।
यस्तै धनुषामा ३ पुरुष र २ महिला, रौतहटमा ३ जना पुरुष र एक महिला रहेका छन् । त्यस्तै सप्तरीमा ३ जना महिला र पर्सामा १ पुरुष रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराले उपलब्ध गराएको तथ्यांकमा छ ।
पछिल्लो पटक भइरहेको जघन्य हत्या घटनालाई अपराध बढेको भन्न नसकिने मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवाचन्द्र बोहराको तर्क छ ।
‘कहिलेकाहीँ एउटा घटना भयो भन्दैमा अपराध बढ्यो वा घट्यो भन्न सकिंदैन’ उनको तर्क छ । तर सानातिना कुरामा हत्या गर्ने प्रवृत्ति बढेकाले त्यस तर्फ गम्भीर हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका-२ मा बोराभित्र राखिएको अवस्थामा युवकको शव भेटिएको स्थान ।
‘लुट्ने उद्देश्यले आएका छन् । मान्छे मारेका छन् । यो त जघन्य अपराध हो । यस्तो घटनालाई गम्भीर नै मान्नु पर्छ,’ उनले भने ।
पर्साको बहुदरमाई नगरपालिका-२ बस्ने प्रेम शाह घटनाहरूमा प्रहरीलाई मात्र दोष दिएर नहुने तर्क गर्छन् । ’खुला सीमा, बेरोजगारी, जनचेतनाको अभावको कारणले पनि व्यक्ति हत्या र अपराधको घटना बढेको छ । समाज असुरक्षित बन्नुमा सरकारको कमिकमजोरी छ,’ उनी तर्क गर्छन् ।
स्थानीय समाजसेवी प्रकाश थारु समाज उच्छृङ्खल गतिविधि गरिरहेकाहरूबाट असुरक्षित बन्दै गएको बताउँछन् । ’प्रहरीको कमिकमजोरी त छ नै । समाजमा उच्छृङ्खल गतिविधि गर्ने, अपराध गर्नेको संख्या बढ्दै छ,’ उनले भने ’अपराध बढ्नुमा जनचेतनाको अभाव देखिन्छ । सावधानी अपनाउनु आवश्यक छ ।’
प्रहरीले अपराध न्यूनीकरण योजना बनाएर काम नगर्दा अपराध बढेको एक प्रहरी अधिकारी स्वीकार गर्छन् । उनी भन्छन्, ‘हत्या भएपछि अनुसन्धान हुन्छ । तर यस्तो घटना कसरी न्यूनीकरण गर्ने भनेर कार्ययोजना बनाएर प्रहरी संगठनले काम गरेको छैन । यो काम प्रहरीको प्राथमिकतामै छैन ।’
ती प्रहरी अधिकारीका अनुसार हत्याका घटना बढ्नुमा खुल्ला सीमा, आपराधिक मनोविज्ञान, तस्करी लगायतलाई बेवास्ता गर्नु, सीमामा वारपार गर्ने व्यक्ति र सवारीसाधनको रेकर्ड नहुनु, लागुऔषध, अनैतिक प्रेम सम्बन्ध, क्षणिक प्रेम सम्बन्ध लगायत कारण रहेका छन् ।
खुला सीमा एकातिर छ भने जनसंख्याको चाप बढिरहेको छ । प्रहरीले ठोस योजना बनाएर काम गर्न नसक्दा खुला बोर्डर, जनसंख्याको चाप, सामाजिक सञ्जाल, जनचेतनाको अभाव लगायतको कारण आपराधिक घटना बढेको सुरक्षाविद्हरूको विश्लेषण छ ।
नेपाल प्रहरीका पूर्व एसएसपी षडानन्दप्रसाद कुर्मी संघीयतासँगै प्रहरी परिचालनमा अलमल देखिएको बताउँछन् । मैदानमा राम्ररी काम गर्न नसकेको अवस्था छ । जनशक्ति थप्ने, वृत्ति विकास लगायतका कुराहरूमा ध्यान दिएर जानुपर्ने उनी बताउँछन् ।
साथै, अभिभावकले पनि परिवारका सदस्यको सुरक्षामा ध्यान दिनुपर्ने, जनचेतना फैलाउनुपर्ने लगायतका कामले अपराध न्यूनीकरण हुने उनी कुर्मी बताउँछन् । शैलेन्द्र महतो क्रान्तिले अनलाइनखबरमा लेखेको समाचार हाे ।
प्रकाशित मिति: २०२४-१२-२४ , समय : ०७:४७:०९ , २ हप्ता अगाडि