सप्तरीमा पक्राउ परेका वडाध्यक्षको धम्की : मुद्दा फिर्ता नलिए छोराछोरीकै अवस्था हुन्छ
मिति: २०२४-१२-२० , समय : ०८:४६:५३ , गामघर डेस्क
मिति: २०२४-१२-२० , समय : ०८:४६:५३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । तीन वर्षअघि छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरूमाथि कारबाही माग गर्दा आफूमाथि नै धम्की आउन थालेको पीडितकी आमाले सहयोगको याचना गरेकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.१ मा तीन वर्षअघि (१७ साउन २०७९) चन्द्रदेवी साहकी १९ वर्षीया छोरी सन्तोषीको हत्या भएको थियो भने १७ वर्षीय छोरा आशिषलाई बेपत्ता पारिएको थियो ।
यही घटनामा संलग्न रहेको भन्दै १३ दिनअघि (२१ मंसिर) नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पक्राउ परेका थिए । १६ मंसिरको उपनिर्वाचनबाट निर्वाचित साह शपथ ग्रहण समारोहबाटै पक्राउ परेका थिए ।सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार वडाध्यक्ष साहमाथि अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।यसैबीच छोरी गुमाएकी र छोरा बेपत्ता भएकी आमाले दोषीमाथि कारबाही माग गर्दै ज्यान मार्ने धम्की आउन थालेको हो ।धम्की आउन थालेपछि बिहीबार राजविराज पुगेर उनले सुरक्षित बस्ने वातावरण मिलाउन सञ्चारकर्मीलाई भेटेर याचना गरेका हुन् ।
‘पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँजसो मुद्दा फिर्ता नलिए ज्यानै लिनेसम्मका धम्की आउन थालेको छ,’ आमा चन्द्रदेवीले रुँदै भनिन्, ‘प्रतिवादी आफन्तहरू खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए तेरो अवस्था पनि छोराछोरीको जस्तै पारिदिन्छु भन्दै धम्क्याउन थालेका छन् ।’चन्द्रदेवीले आफूलाई आएको धम्कीबारे प्रहरी अधिकारीहरूलाई पनि जानकारी गराइसकेकी छिन् । कतैबाट सहयोग नपाए आफू गाउँ छोड्न बाध्य हुने उनको भनाइ छ ।प्रहरीका अनुसार उक्त घटनाका अन्य आरोपीहरूको खोजी कार्य भइरहेको छ ।
प्रकाशित मिति: २०२४-१२-२० , समय : ०८:४६:५३ , ३ हप्ता अगाडि