रहस्यमय बनिरह्यो सिनामंगलकाे माझी दम्पती हत्या काण्ड…
मिति: २०२४-११-२९ , समय : ११:४७:०८ , गामघर डेस्क
मिति: २०२४-११-२९ , समय : ११:४७:०८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । सुनसरीको दुहवी– ८ घर भएका ३४ वर्षीय रमेश माझी र उनकी पत्नी मोरङ घर भएकी २९ वर्षीया शर्मिलाकुमारी माझीले सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा आत्महत्या गरेको ६ दिनसम्म रहस्यमय बनेको छ । माझी दम्पती सिनामंगलस्थित एक होटलमा आइतबार एउटै सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा मृत भेटिएका थिए । उनीहरू अघिल्लो दिन क्यानडाबाट कतार एयरलाइन्सको जहाजमार्फत् नेपाल आएको प्रहरीले बताएको थियो ।
प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको हो । मृत भेटिएका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमतीको शव मृतक रमेशका बाबुआमा आइपुगेपछि उठाएर पोष्टमार्टमका लागि पठाइएको हो । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनीहरू दुवैको हातमा रगत लत्पतिएको थियो । उनीहरूले आत्महत्या पूर्व बायाँ हत्केलाको छाला ब्लेडले काटेका थिए । त्यसैले शुरूमा हत्केलाको नशा काटेर आत्महत्या प्रयास गरेको अनुमान प्रहरीको छ ।नशा काटिन नपाउँदै दुखाई सहन सकेनन्, त्यसपछि घाँटीमा पासो लगाउने निर्णयमा पुगेको अनुमान गर्न सकिन्छ ।
प्रहरीले उनीहरूलाई आइतबार बिहान साढे ७ बजे होटलको कोठा पछाडि बार्दलीमा रहेको स्टिलको रेलिङमा एउटै पासोमा झुण्डिएको अवस्थामा फेला पार्दा उनीहरूको हातमा रगत लत्पतिएको भेटेको थियो । कोठाको झ्यालबाट उनीहरू आत्महत्या गर्न बार्दलीमा रहेको रेलिङमा पुगेका थिए ।उनीहरू बसेको होटलको कोठाबाट सुसाइड नोट वा आत्महत्याको कारण खुल्ने कुनै चिज पनि भेटिएन ।प्रहरीका अनुसार उनीहरूको कोठामा दुवैको राहदानी र केही जोर लुगामात्रै थिए । कोठाबाटै आइफोन, कपडा सिलाउने मेसिन र ल्यापटप पनि बरामद भएको प्रहरीले जनाएको छ । त्यसमध्ये आइफोनलाई थप अनुसन्धानको लागि केन्द्रीय प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।विदेशबाट घर फर्किएका मान्छेसँग सामान्यतया एक–एकवटा लगेज हुनुपर्नेमा उनीहरू सामान्य झोलामा फेरफारका कपडामात्रै बोकेर आएको देखिन्छ ।
उनीहरू काठमाडौं आउँदै गरेको सूचना परिवारका कोही पनि सदस्यसँग थिएन । सुनसरीबाट काठमाडौं आइपुगेका बाबुआमालाई समेत उनीहरू नेपाल आएको भन्ने जानकारी नरहेको अनुसन्धानबाट खुलेको छ । छोरा–बुहारीले आफूहरू नेपाल आउनका लागेको भन्ने केही जानकारी नगराएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।
क्यानडामा उनीहरु लण्डन शहरमा बस्थे । आत्महत्यापछि त्यहाँ सँगै बस्ने र सँगै काममा जाने साथीहरूसँग परिवारका सदस्यको कुराकानी भयो ।मृतक रमेशका भिनाजु नारद माझीका अनुसार क्यानडाका साथीहरुसँग पनि काठमाडौं जाने कुरा भनेका थिएनन् ।‘घटना भएपछि क्यानडामा सँगै बस्ने उनीहरूको साथीले मलाई म्यासेन्जरमा कल गरे’, उनले भने, ‘उनीहरू पनि कसरी यस्तो भयो भनेर अचम्म मानिरहेका छन् ।’ क्यानडामा पनि साथीहरूले बुझ्दासम्म उनीहरुले आत्महत्या नै गर्नुपर्ने तहका समस्या वा तनावमा थिएनन् । नारदका अनुसार, शर्मिलाले केही दिनअघि सँगै काम गर्ने साथीलाई पतिको छाती दुख्ने कारण केही दिन ड्युटीमा नजाने बताएकी थिइन् ।
मृतक दम्पतीले २ वर्षअघि सन् २०२२ मा क्यानडा जाँदा २ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएको खुलेको छ । सुनसरीबाट मृतकका बाबुआमा आउँदा उनीहरूले नाती समेत काठमाडौं लिएर आएका थिए । मृतक दम्पतीका ती छोरा अहिले ४ वर्षका छन् । सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तले घर खोटाङको दिक्तेल रुपाकोट नगरपालिका–४ का रामजी कटुवालले भाडामा लिएर होटल चलाएका थिए । काँडाघारी बस्ने कटुवालले जन्मभूमि नामको होटल सञ्चालन गरेका थिए । उक्त होटलमा शनिबार साँझ पौन ७ बजेको समयमा उनीहरू पुगेका थिए । होटलको चौथो तलाको १२० नम्बर कोठा बुक गरेर उनीहरू बसेका थिए । होटलको रजिस्ट्रेशन बुकमा रमेशको नाममा कोठा बुक भएको थियो । होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा उनीहरू मृत भेटिएका थिए ।सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा दुवै जनाको शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२४-११-२९ , समय : ११:४७:०८ , २ हप्ता अगाडि