सप्तरीको खडक नगरपालिकाकी पूर्वउपमेयरको घरबाट लाखौंको अबैध कपडा बरामद

मिति: २०२४-११-२८ , समय : १२:१२:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको खडक नगरपालिकाकी पूर्वउपमेयर यास्मिन सुल्तानको घरबाट भन्सार छलीको आशंकामा लाखौँ रुपैयाँ बराबरको अबैध कपडा नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी र भन्सार कर्मचारीको संयुक्त टोलीले मंगलबार खडक नगरपालिका– ७ स्थित यास्मिनको गोदामबाट १९ लाख ३० हजार ९० रुपैयाँबराबरको कपडा बरामद गरेको राजविराज भन्सार कार्यालयका सूचना अधिकारी विजयकुमार साहले बताए।

गोप्य सूचनाको आधारमा छापा मारेर ३८ वटा पोकामा रहेकाे तयारी पोसाक बरामद गरेको सूचना अधिकारी साहले बताए। तत्काल सामानको बिलबिजक नदेखाएपछि भन्सार छलीको आशंकामा सामान नियन्त्रणमा लिई अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठी लगिएको साहले जानकारी दिए।

पूर्वउपमेयर यास्मिन सुल्तानलाई उन्मुक्ति दिने प्रयास
प्रहरी र भन्सारको टोली पुग्दा घरमै रहेकी सुल्तानलाई भने प्रहरीले छोडेको छ। उनलाई पहुँचका आधारमा उन्मुक्ति दिने प्रयास भइरहेको स्राेतले बतायो। सुल्तान यसअघिको कार्यकालमा खडग नगरपालिकाको उपमेयर थिइन्।

सशस्त्र प्रहरीका एसपी ज्ञानमणि पौडेलले भने घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताउँदै मुद्दाका क्रममा आवश्यक भए सुल्तानलाई पनि कानुनी दायरामा ल्याइने प्रतिक्रिया दिए। नयाँ पत्रिका

प्रकाशित मिति: २०२४-११-२८ , समय : १२:१२:५३ , ३ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित