मधेस प्रदेश : दशै तिहारमा पनि तलब भत्ता पाएनन् शिक्षक तथा कर्मचारीहरु

मिति: २०२४-११-२१ , समय : १५:२७:२१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्साको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनश्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलब भत्ता पाएका छैनन् ।

चालू आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ ।

पालिकाले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि विवादका कारण बहुदरमाई नगरपालिकाले गएको कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।

बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएको झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलब भत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ ।

उपमेयर सुष्माकुमारी कुशवाहाले आफूले पटक–पटक प्रमुखसँग समन्वय गर्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प रहेको बताउनुभयो ।

पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सय जनाभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलब भत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन् । रासस

प्रकाशित मिति: २०२४-११-२१ , समय : १५:२७:२१ , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित