प्रदूषणका कारण भारतको नयाँदिल्लीका विद्यालय बन्द

मिति: २०२४-११-१९ , समय : ०८:०१:३० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीका विद्यालय बन्द गरिएका छन् । विषाक्त धुवाँका कारण सोमबारदेखि राजधानी नयाँदिल्लीका विद्यालयलाई अनलाइन कक्षामा रूपान्तरण गरिएको छ । विशाल महानगरको स्वास्थ्य संकट कम गर्ने पछिल्लो प्रयासमा फेरि अनलाइन कक्षा सञ्चालन गरिएको हो ।

आइतबार साँझ विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पिएम २.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कण) रेकर्ड गरिएको थियो ।

सोमबार बिहान प्रदूषण तह चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थिए भने सहर बाक्लो खैरो र धुवाँले ढाकिएको थियो । यो सहर प्रत्येक वर्ष धुवाँले ढाकिने गर्छ । विशेषगरी छिमेकी क्षेत्रहरूमा किसानले जोत्नका लागि आफ्नो खेतहरू सफा गर्न पराल जलाउँदा निस्किएको धुवाँले प्रदूषण बढाएको छ ।

हावाको गुणस्तर अझ बिग्रन सक्ने आशंकामा सहरका अधिकारीले विद्यालय जान प्रतिबन्ध लगाएका हुन् । अधिकारीहरूले बच्चाहरूलाई घरमै राखेर सवारी साधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा राखेका छन् ।

‘कक्षा १० र १२ बाहेक सबै विद्यार्थीका लागि भौतिक कक्षा बन्द गरिनेछ,’ मुख्यमन्त्री आतिशीद्वारा आइतबार राति जारी विज्ञप्तिमा उल्लेख छ । प्राथमिक विद्यालयलाई बिहीबार व्यक्तिगत कक्षा बन्द गर्न आदेश दिइएको थियो । एजेन्सी

प्रकाशित मिति: २०२४-११-१९ , समय : ०८:०१:३० , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित