सप्तरीका कुख्यात मिटरब्याजी तेलीकी श्रीमती र छोरालाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

मिति: २०२४-१०-२९ , समय : १९:२४:०८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीका कुख्यात मिटरब्याजी रामदेव साहु तेलीकी श्रीमती र छोरालाई धरौटीमा छाड्न मंगलबार सप्तरी जिल्ला अदालतले आदेश दिएको छ। रामदेव तेलीकी श्रीमती शिवकुमारी देवी र छोरा नन्दकिशोर साहु तेली साहलाई जनही पाँच लाख २२ हजार ५०० रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

यसअघि गत साउन २७ गते रामदेवकी छोरी खडक नगरपालिका– ७, कल्याणपुरकी अनुराधा साहलाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न जिल्ला न्यायाधीश सञ्जीव पोखरेलको एकल इजलासले आदेश दिएको थियो।

रामदेवसहित अन्य पाँचजना भने अझै पक्राउ परेका छैनन्। रामदेवसहित छोरा विपिनकुमार, छोरी पुष्पा साह, नाति चन्दनकुमार साह र कैलाश साह फरार छन्।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ३० को उपदफा १ बमोजिम उनीहरूविरुद्ध १३ करोड ५५ लाख ७८ हजार ८२६ रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय मागदाबी गर्दै गत साउन २३ गते अदालतमा आरोपपत्र दायर भएको छ। परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेकाे र यसमा उनको पूरै परिवार संलग्न रहेको अभियोग छ। नयाँ पत्रिका

प्रकाशित मिति: २०२४-१०-२९ , समय : १९:२४:०८ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्