मेलम्चीको पानी पुनः वितरण सुरु : काठमाडौंबासिकाे पानीको समस्या समाधान हुने मन्त्री यादवकाे विश्वास

मिति: २०२४-१०-०८ , समय : २०:३६:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
बर्खा लागेपछि वितरण बन्द गरिएको मेलम्चीको पानी मंगलबारदेखि पुनः वितरण सुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलस्थित पानी प्रशाेधन केन्द्रबाट पुनः वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

मंगलबार प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामा पानी पठाइएको हो। ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए।

‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबिच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ। अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ,’ उनले भने।

मेलम्चीको पानी केयुकेएलमा आइसकेकाले अब उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए।

खानेपानीमन्त्री यादव र मेलम्ची संघर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि मंगलबार मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो। वार्तापछि बाढीपीडित संघर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्न मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो। मेलम्चीको पानी बन्द गरेपछि केयुकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

काठमाडौं उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहेकोमा मेलम्चीबाट १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ। नयाँ पत्रिका

प्रकाशित मिति: २०२४-१०-०८ , समय : २०:३६:५४ , २ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित