सीके राउतको सम्बन्धविच्छेद मुद्दा : मुख्य नेता र सांसदजस्तो मान्छेले अबला पत्नीमाथि ज्यादती गरेको आरोप
मिति: २०२४-१०-०३ , समय : १४:२२:०४ , अजय अनुरागी
मिति: २०२४-१०-०३ , समय : १४:२२:०४ , अजय अनुरागी
अजय अनुरागी
काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष सीके राउतकी पत्नी सोनी सिन्धु रानीले सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा अदालतसमक्ष प्रतिउत्तर पेश गरेकी छन् । ललितपुर जिल्ला अदालतमा राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दामा उनले बुधबार प्रतिउत्तर पेश गरेकी हुन् ।
आफूलाई विपक्षी (पति), सासूससुरा र नन्दले नियमित घरेलु हिंसा, मानसिक यातना, शारीरिक यातना दिने गरेको उनको आरोप छ । ‘दाम्पत्य सम्बन्धको परिभाषा नाघेर विपक्षी पतिले ममाथि ज्यादती गर्नुभएको छ । मसँग दिनरात निहुँ खोजी कुटपिट र झगडा गर्ने काम गर्नुभएको छ । सधैं तिमी बुहारी मान्छे हो, बुहारीको सीमाभित्र बस्नुपर्छ, मैले जे भन्छु, त्यो मान्नैपर्छ भनी अति नै दबाबमा राख्ने गर्नुहुन्थ्यो,’ सोनीले प्रतिउत्तरमा उल्लेख गरेकी छन् ।
राजविराज बस्दा सासूससुरा, नन्द र पति समेतले शारीरिक एवं मानसिक यातना दिने गरेको आरोप उनले लगाएकी छन् । ‘सासूससुरा र नन्द मिलेर मलाई यो कामचोर एवं ठग हो, घरको केही काम गर्दिन, बिरामी भएको नाटक गर्छे भन्नेजस्ता शब्दहरू प्रयोग गरेर मानसिक यातना दिन शुरू गरे । त्यो यातनाले हदै पार गर्यो । विपक्षी पतिले नै विभिन्न गालीगलोज गर्ने, वचन लगाउने, कुटपिट गर्नेजस्तो व्यवहार देखाएपछि घरका सबै सदस्यले मलाई होच्याउने, विभिन्न अपशब्द बोली मानसिक र शारीरिक याताना दिने गर्न थाल्नुभयो,’ प्रतिउत्तरमा उल्लेख छ ।
सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग र भारतीय राजदूतावासमा समेत गुहार मागेको उनले उल्लेख गरेकी छन् । ‘आफ्नै परिवारबाट सुरक्षित नभएपछि मैले राष्ट्रिय मानवअधिकार आयोग र भारतीय राजदूतावासमा गुहार मागेकी थिएँ । तर, मलाई कहीँ कतैबाट सुरक्षाको ग्यारेन्टी भएन,’ प्रतिउत्तरमा उल्लेख छ ।
आफूलाई डिप्रेसन नभए पनि उपचार गराउने बहानामा डिप्रेसनको औषधि खुवाउने गरिएको समेत उनको आरोप छ । ‘पटनाको पारस अस्पतालमा मेरो उपचार गराउने बहानामा तिमीलाई डिप्रेसन छ भन्दै डिप्रेसनको औषधि खुवाउनु भयो । त्यसबखतको उपचारको प्रेसक्रिप्सन प्रमाणका रूपमा पेश गरेकी छु । त्यसपछि पुनः पटना घुम्न भनेर मुम्बई लगी त्यहाँ पनि डिप्रेसनको औषधि खुवाउन लगाउनुभयो । डिप्रेसन नभएपनि डिप्रेसनको औषधि खाँदा मलाई स्वास्थ्यमा समस्या हुँदै गयो,’ प्रतिउत्तरमा उल्लेख छ ।
उनले अगाडि लेखेकी छन्, ‘हाल उक्त औषधि खान छाडेपछि आराम भएको महसुस गरेकी छु ।’
आफ्नो मानसिक अवस्था ठीक रहे पनि फिराद पत्रमा अनावश्यक आरोप लगाइएको उनको गुनासो छ । उनले पति सीके राउतको नै मानसिक अवस्था जाँच गराउन माग गरेकी छन् ।
‘मलाई पेट दुख्ने, टाउको दुख्नेलगायत अन्य स्वास्थ्य समस्या भएका बेला डिप्रेसनको औषधि खाऊ भनी दिनेजस्ता अस्वाभाविक कार्यहरू गर्नुभएकाले र मलाई सधैं दु:ख दिने नियत मात्र राखेकाले विपक्षीको नै मानसिक समस्या छ जस्तो देखिन्छ । निज विपक्षीको मानसिक अवस्था जाँच गरी पाउने आदेशका लागि सम्मानित अदालतसमक्ष निवेदन गर्दछु,’ सोनीले प्रतिउत्तरमा लेखेकी छन् ।
सुत्केरी अवस्थामा पनि आफूले आराम र स्याहार नपाएपछि बाध्यतावश विगतमा डिभोर्स मागेको उनले स्वीकारेकी छन् ।
‘सुत्केरी अवस्थामा मैले आराम र स्याहार पाइनँ । शरीर दुखिरहनेजस्ता समस्या आइरहन्थ्यो । यतिसम्म हुँदा पनि विपक्षी पतिले मलाई कहिले राम्रो गर्नुभएन । सधैं घरमा काम गर्ने नोकरको रूपमा हेर्ने र सोहीबमोजिमको व्यवहार गर्नुहुन्थ्यो । आफ्नै पतिले राम्रो व्यवहार नगरेपछि घरका अरू सदस्यले पनि कहिले राम्रो व्यवहार गर्नुभएन । परिवारबाट पाइरहेको मानसिक र शारिरीक यातनाबाट आजित भएर पहिले मैले डिभोर्सको कुरा उठाएको हो,’ उनले भनेकी छन् ।
राउतले सम्पूर्ण सम्पत्ति उनी स्वयं र परिवारका अन्य सदस्यको नाममा राखेको उनले खुलाएकी छन् । ‘विपक्षी पतिले सम्पूर्ण सम्पति आफ्नो तथा परिवारका अन्य सदस्यको नाममा राख्नुभएको हुँदा मलाई के कति सम्पत्ति छ भन्ने कुरा पनि थाहा छैन,’ प्रतिउत्तरमा लेखिएको छ ।
उनले अगाडि लेखेकी छन्, ‘विपक्षीले मलाई एउटा कामदारभन्दा पनि तल्लो दर्जामा राख्नुभएको र मलाई गरेका व्यवहारका कुराहरू सबै लुकाई मसँग सम्बन्धविच्छेद गर्न चाहनुभएकाले उक्त सम्वन्धविच्छेद गर्न मेरो सहमति नभएको कुरा सम्मानित अदालतसमक्ष जाहेर गर्न चाहन्छु । बच्चाहरू तथा विवाहित पत्नीप्रति एक पिता र पतिले गर्नुपर्ने दायित्व पूरा गर्नबाट पछि हट्दै सम्बन्धविच्छेदको फिराद दायर गर्नु आफैंमा अन्यायपूर्ण कार्य भएकाले उक्त फिराद बदरभागी छ ।’
परिवारसँग अंशवण्डा नभई सगोलमा नै रहेको र आफूबाट लुकाएर परिवारका अन्य सदस्यका नाममा राखेको सम्पूर्ण सम्पत्तिबाट बच्चाहरूसँगै खाने, लाउने, बस्ने, उपचार गर्ने व्यवस्था मिलाइदिन उनले माग गरेकी छन् ।
‘विपक्षीले सम्बन्धविच्छेद गरौं भनेकोमा मेरो मञ्जुरी छैन । नेपालको एउटा सम्मानित राजनीतिक दलको मुख्य नेता तथा सांसद भएर मजस्तो एक अबला विवाहित पत्नीप्रति अत्यन्तै अन्यायपूर्ण व्यवहार गर्नुभएको र मेरो कुनैपनि आयस्रोत समेत नभएकाले सम्मानित अदालतबाट निजको नाममा रहेको, परिवारसँग अंशवण्डा नभई सगोलमा नै रहेको र मबाट लुकाएर परिवारका अन्य सदस्यका नाममा राखेको सम्पूर्ण सम्पत्तिबाट म र मेरा बच्चाहरूलाई खाने, लाउने, बस्ने, उपचार गर्ने व्यवस्था समेत विपक्षीबाट दिलाई/भराई, सम्मानित अदालतबाट न्याय दिलाई उक्त मुद्दा खारेज गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम इन्साफ दिलाइपाऊँ,’ प्रतिउत्तरमा उल्लेख छ । लोकान्तरबाट
प्रकाशित मिति: २०२४-१०-०३ , समय : १४:२२:०४ , ३ महिना अगाडि