भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो : पाँचजना पक्राउ

मिति: २०२४-०९-२७ , समय : १६:५०:३४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

भारत । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ ।

प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । ‘बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो’, उनले भने ।
माथुरका अनुसार बघेल र उनका पितासहित विद्यालयका अन्य तीन शिक्षकलाई पक्राउ गरिएको छ । बालकको मृत्यु कसरी भयो भन्नेबारे माथुरले कुनै जानकारी दिएन । स्थानीय सञ्चारमाध्यमहरूले शवको परीक्षण भइरहेको बताएका छन् ।
भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०१४ देखि सन् २०२१ को बीचमा मुलुकभर एक सय तीन वटा मानव बलिका घटना दर्ता भएका छन् ।
अनुष्ठानमा गरिने हत्याहरू सामान्यतया देवताहरूलाई प्रसन्न पार्न गरिन्छ । बोक्सी र गुप्त विद्यामा विश्वास व्यापक भएको आदिवासी तथा दुर्गम क्षेत्रहरूमा मानव बलि बढी प्रचलित छ ।
गत वर्ष प्रहरीले सन् २०१९ मा ६४ वर्षीया महिलाको हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । ती महिलाको भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा एक मन्दिरमा गएपछि हत्या गरिएको थियो र टाउको छिनालिएको थियो । प्रहरीका अनुसार आरोपित मुख्य व्यक्तिले आफ्नो भाइको मृत्युको वार्षिकोत्सव मनाउन धार्मिक अनुष्ठान गरिरहेको थियो । एजेन्सी

प्रकाशित मिति: २०२४-०९-२७ , समय : १६:५०:३४ , ३ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्