मधेस प्रदेश : वनमा पोखरी निर्माण भएपछि वरपर पानीको पुनर्भरण हुन थाल्यो
मिति: २०२४-०९-०९ , समय : १५:४२:०२ , गामघर डेस्क
मिति: २०२४-०९-०९ , समय : १५:४२:०२ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । जलवायु परिवर्तनको असरले पानीको सतह गहिरिन थालेपछि पर्यावरणीय सन्तुलन कायम गर्न सिरहाको लहानका स्थानीय बासिन्दा सक्रिय हुन थालेका छन् । पोखरी निर्माण तथा संरक्षणले एकातिर हिउँदमा भूमिगत पानीको पुनर्भरण हुने तथा अर्कोतर्फ पर्यटकीय आगमन हुन गई आयआर्जनमा सघाउ पुग्ने स्थानीयवासी बताउँछन् ।
चुरेको फेदमा पर्ने लहान नगरपालिका–१५ शोभापुरमा दुई वर्षअघि ‘कोइरालो खोला नमुना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘हात्तीदह’ लाई पोखरीको रूप दिइएपछि अहिले रमणीयस्थल बन्न पुगेको छ । तीन हेक्टर क्षेत्रफलमा फैलिएको पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन भ्रमण गर्ने गरेका छन् । पोखरी बनेपछि वरिपरिका बस्तीमा सुक्खायाममा पनि पानीको स्रोत बढेको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताउनुभयो ।
सिमसार क्षेत्रलाई संरक्षण गरी ठूलो क्षेत्रफलमा पोखरी निर्माण गरिएपछि हिउँदमा पनि नजिकैका बस्तीमा भूमिगत पानीको सतह घटेको छैन । पहिला पहिला ५०/६० फिट गहिरो इनार खन्दा पनि पानीको सतह भेटिन छोडेको थियो । तर पोखरी निर्माणपछि ३०/३५ फिटमुनि पानीको स्राेत देखा पर्न थालेको अध्यक्ष चौधरीले बताउनुभयो ।
हिँउदमा पानीको सतह घट्न नदिन आफ्नो सामुदायिक वनभित्र अन्य चार वटा पोखरी निर्माण गरिएका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ६ हेक्टर क्षेत्रफल ओगटेका पोखरीमा सिञ्चित पानीले नजिकैका भेडियाटोल, मोहनपुर, शोभापुर, बसाजोरी, डाँडाँटोललगायतका बस्तीमा भूमिगत पानीको सतह घट्न पाएको छैन ।
जलवायु परिवर्तनको असर चुरे आसपासका बस्तीमा बढी परेको देखिन्छ । हरेक ठाउँमा पानीका मुहान वर्षेनि सुक्दै गएका छन् । पोखरीले जमिनमा पानीको ‘रिचार्ज’ को काम गर्दछन् । रासस
प्रकाशित मिति: २०२४-०९-०९ , समय : १५:४२:०२ , 7 months अगाडि